काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको निर्वाचनलाई शान्तिपूर्ण, निश्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । २२ औं सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा आयोजित कार्यक्रममा सोमबार उनले त्यस्तो बताएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । प्रधानमन्त्री प्रचण्डले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राईलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरे । त्यस्तै, उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्कालाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे ।
सशस्त्र प्रहरी बलबाट हुने उद्धारका कार्य, सामूहिक व्यायाम वा सांकृतिक कार्यक्रम मौलिक र सृजनशील तारिकाबाट हुने बताउँदै राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरी बल नेपालले मुख्यतया निर्वाचनमा खेल्दैआएको भूमिकाको प्रसंशा गरे । सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुले २०७२ सालको विनाशकारी भूकम्पलगायत विभिन्न समयमा भएका प्राकृतिक तथा मानवसृजित विपत्तीमा आफ्नो ज्यानको प्रवाह नगरी वीरताका साथ खटिएर जनताको जीवनरक्षाको लागि कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेको प्रधानमन्त्री प्रचण्डले चर्चा गरे ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्वदेश तथा विदेशमा विभिन्न जिम्मेवारी र नियुक्तीमा रही आफ्नो भूमिका निर्वाह गरिरहेका सशस्त्र प्रहरी कर्मचारीहरु ‘काँधमा जिम्मेवारी, लक्ष्यमा इमान्दारी र मस्तिष्कमा समझदारी’ राखेर काम गर्ने प्रेरणा मिलोस् भनि शुभकामना व्यक्त गरे । सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीहरुले आफ्नो उर्जा र क्षमताको अधिकतम उपयोग गरी संगठनको बयश्क समयलाई जीवन्तता दिनुहुने छ र यसमा गृहमन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता जनाए ।


















