टमाटरको पकेट क्षेत्र पूर्वी नवलपरासी

88

 

कावासोती ।नवलपुरलाई टमाटर (गोलभेडा) ‘हब’ क्षेत्र बनाउन पछिल्लो समय व्यावसायिक रूपमै सामूहिक खेतीतर्फ युवा आकर्षित भएका छन्। जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत कृषकले अहिले व्यावसायिक रूपमा सामूहिक टमाटर खेती सुरु गरेका हुन्।

कृषिमा थोरै श्रम गरेर आम्दानी राम्रो हुने भएकाले यसतर्फ आफू लागेको देवचुली १७ का कृषक गोविन्द बस्यालले जानकारी दिनुभयो।

देवचुलीमा चार वर्षदेखि दश बिघा जग्गा भाडामा लिएर टमाटर खेती सुरु गर्नुभएका बस्यालले भन्नुभयो, ‘स्वदेशमा अवसर नभएको भन्दै युवा विदेश पलायन हुने क्रम बढ्दै जाँदा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि त्यसको सदुपयोग गर्दै स्वदेशमै रोजगारीको सम्भावना छ भन्ने सन्देश प्रवाह गर्न टमाटर खेती गरेको हो।”

नवलपुरमा उत्पादन भएको टमाटर स्थानीय बजारसँगै बुटवल, नारायणघाट, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ। आफूले उत्पादन गरेको टमाटर दैनिक पोखरा र काठमाडौं निर्यात हुने कृषक बस्यालको भनाइ छ।

पूर्वी नवलपरासीका गैंडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका युवा यसप्रति आकर्षित भएका छन्। आधुनिक प्रविधिमार्फत व्यावसायिक रूपमा खेती गर्दा सफल भइन्छ भन्ने उदाहरण युवाले प्रस्तुत गर्न सफल भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकृत शङ्कर पौडेलले जानकारी दिनुभयो।

यहाँका युवाले विभिन्न ग्रामीण कृषि उत्पादक समूह निर्माण गरेर विभिन्न निकायको सहयोगमा गत भदौबाट सामूहिक रूपमा व्यावसायिक टमाटर खेती शुरु गरेको पौडेलले बताउनुभयो।

जिल्लामा यो वर्ष ९५ हेक्टर क्षेत्रफलमा टमाटर खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत वर्ष जिल्लामा १ हजार ७१९ मेट्रिक टन टमाटर उत्पादन भएको छ। युवा कृषकले यो खेतीबाट पहिलो वर्ष चालू खर्च मात्र उठाउने लक्ष्य लिएका र  त्यसपछिका वर्षमा लगानी र क्रमशः नाफा कमाउने उद्देश्य राखेको कृषक हरि थापाले जानकारी दिनुभयो।   मीना कँडेल गाेखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here