विश्वकप २०२२ मा टिकटको हिनामिनाबारे जानकारी माग गर्दै एन्फा अध्यक्ष नेम्वाङलाई पत्र

53

काठमाडौं । फिफा विश्वकप २०२२ मा फिफाबाट प्राप्त टिकटको हिनामिनाबारे जानकारी माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङलाई कार्यसमिति सदस्य रुपेश अधिकारीले पत्र लेखेका छन्।

गत नोभेम्बर-डिसेम्बरमा कतारमा भएको विश्वकपमा छनोट नभएका फिफाका सदस्य राष्ट्रहरूलाई विश्व फुटबलको सर्वोच्च निकायले २९० वटा टिकट उपलब्ध गराएको थियो। सोही अनुसार नेपालले पाएका २९० मध्ये २१० मात्रै नेपाली दर्शकलाई उपलब्ध गराएको र बाँकी टिकटको हिनामिना भएको विषय ‘काठमाडौं पोस्ट’ले बाहिर ल्याएको थियो।

सोही विषयमा स्पष्ट जानकारी बाहिर ल्याउन एन्फा केन्द्रीय कार्यसमिति सदस्य अधिकारीले अध्यक्ष नेम्वाङलाई पत्र लेखेका हुन्।

‘विश्व कप फुटबल २०२२ का विषयमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचार बारे मेरो पनि ध्यान केन्द्रित भएकोले उक्त विषयमा म पनि जिम्मेवार पदमा बहाल रहेको नाताले निम्न लिखित विषयहरू अबिलम्ब  (आजै कार्यालय समय भित्र ) उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु। यस विषयलाई गहन रूपमा लिइदिनुहुन अनुरोध गर्दै अन्यथा यो विषयलाई फिफा र ए एफ सी मासमेत उठान गर्न बाध्य हुनेछु,’ अधिकारीले पत्रमा लेखेका छन्।

अधिकारीले अध्यक्षलाई लेखेको पत्रको पूर्णपाठ

मिति २०७९|१०|१०

श्रीमान अध्यक्ष ज्यू
अखिल नेपाल फुटबल संघ
सातदोबाटो,ललितपुर 

विषय:जानकारी पाऊ भन्नेबारे।

महोदय, 

उपरोक्त बिषयमा अखिल नेपाल फुटबल संघ एक सार्वजनिक निकाए र यस संघ प्रति जनसरोकार सबैले राख्ने गरेको स्वाभाविक नै हो।यस संघ मा भए गरेका काम कार्यवाही कार्यसमिति जानकार हुनु पर्दछ र हामी पनि जवाफ देही हुनु जरूरी ठान्दछु।
साथै यसका काम करवाही र उठेका विषय वस्तुको वारेमा हामी सबै सम्बन्धित निकाए र आम नागरिकलाई सहज तबरले  सुसूचित गराउनै पर्छ।
तसर्थ विश्व कप फुटबल २०२२ का बिषयमा बिभीन्न सञ्चार माध्यम मा आई रहेका समाचार को बारे मेरो पनि ध्यान केन्द्रित भएकोले उक्त बिषयमा म पनि जिम्मेवार पदमा बहाल रहेको नाताले निम्न लिखित विषय हरू अबिलम्ब  (आजै कार्यालय समय भित्र  ) उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु। यस विषय लाई गहन रूपमा लिईदिन हुन अनुरोध गर्दै अन्यथा यो बिषयलाई फिफा र ए एफ सी मा समेत उठान गर्न बाध्य हुनेछु।

१•फिफाबाट कति थान टिकट कुन कुन खेलका लागि प्राप्त भएको?
२•उक्ल टिकट को को र कसैलाई बिबरण गरियो।
३•कुनै निकाएबाट निःशुल्क टिकट प्राप्त भएको थियो थिएन।
४• सञ्चार माध्यम मा प्रकाशित भए अनुसार ए एफ सी लाई कति र किन टिकट दिईएको हो।

म काम बिशेषले देश बाहिर रहनु परेकोले उल्लिखित विषय हरूको स्पष्ट जवाफ मेरो ईमेल मा गराई पाउ।

रूपेस अधिकारी
केन्द्रित सदस्य
एन्फा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here