काठमाडौं । करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव समेत रहेका लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको हो ।
सदस्यमा राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायणबहादुर मगर, यादव काफ्ले, ध्वजमान मोक्तान, निवासगोपाल वैद्य, ध्रुवविक्रम मल्ल, तारा वली, दुर्गागोतम परियार, रवि महर्जन, डोल्मा लामा शाह र किशोरप्रसाद भट्टराई रहेका छन् ।
उनीहरूलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमका बीच मनोनयन पत्र हस्तान्तरण गरे ।
महासंघले ३ महिना भित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ । अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन ।


















