काठमाडौं। काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माले असल नेतृत्व हुन नसकेका कारण सुशासन कायम हुन नसकेको जनाएका छन् । सोमबार राजधानीमा ‘विचारी अहिमान श्रेष्ठ र बाटो निगालेको सेरोफेरो’ नामक कृतिको लोकार्पण गर्दै डा. शर्माले भने, ‘हामीकहाँ असल नेतृत्व हुन नसकेकै कारण सुशासन कायम हुन सकेन र त्यही कारण आर्थिक विकासमा हामी पछि पर्यौँ ।’
कार्यक्रममा वरिष्ठ चिकित्सक डा. लोकविक्रम थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, डेयरी विज्ञ टेकबहादुर थापा, पूर्व सहसचिव डा। रेवतीमान श्रेष्ठ, देवकुमार श्रेष्ठ, निरु श्रेष्ठलगायत वक्ताले आ–आफ्नो मन्तव्य राखेका थिए । पुस्तकमाथि समीक्षात्मक टिप्पणी पत्रकार दीपक विहीनले गरेका थिए । सिन्धुली गढी बाटोनिगाले समाज र विचारी अहिमान श्रेष्ठ परिवारबाट संयुक्त रुपमा प्रकाशित सो पुस्तक लोकका व्यक्तिद्वारा लेखिएको पुस्तक रहेको समीक्षक विहीनले जनाए ।
दिवंगत अहिमान श्रेष्ठको जीवन यात्रामा जोडिएका विभिन्न व्यक्तिहरूका संस्मरणका साथै श्रेष्ठद्वारा रचित ख्याली, भजनलगायतका रचनाहरू समाविष्ट सो पुस्तकको सम्पादन विवश बस्तीले गरेका हुन् । सो पुस्तकमा तात्कालिक सिन्धुली गढी र त्यस वरपर भेगका जीवन्त सन्दर्भहरू उजागर भएका छन् ।


















