एजेन्सी । १९औं अमेरिकी शिखर सम्मेलनमा बाइडेन प्रशासनले क्युबा, निकारागुआ र भेनेजुएलालाई निम्तो नगरेका बेला त्यसको सफलता तथा क्षेत्रीय पक्षधरताप्रति सवाल उठेका थिए । उनीहरूलाई लोकतन्त्रको विषय उठाएर नबोलाइएको थियो ।
बोलिभिया, मेक्सिको, अर्जेन्टिना र अन्य देशका नेताहरूले यसो गरिए सहभागी नहुने जनाएका थिए । यसले एक भूराजनीतिक हावा परिवर्तन भइरहेको महसुस अमेरिकालाई गराएको थियो । यो भनेको अमेरिका शिखर सम्मेलनमा वामपन्थी शक्तिहरूको सुसुप्त उदयको संकेत थियो । त्यतिखेर कोलम्बियाका राष्ट्रपतिमा पूर्व छापामार वामपन्थी नेता गुस्ताभो पेत्रोले जितेका थिए भने अहिले परिणामको रूपमा ब्राजिलका राष्ट्रपतिमा लुला डा सिल्भाले चुनाव जित्ने आधार त्यो भूराजनीतिक हावामा मिसिएको थियो ।
ल्याटिन अमेरिकाका सर्वाधिक जनसंख्या भएका देशहरू ब्राजिल, मेक्सिको, कोलम्बिया, अर्जेन्टिना, पेरु, भेनेजुएला र चिलीले यो क्षेत्रको ८० प्रतिशत जनसंख्या ओगटेको छ । १५औँ शताब्दीदेखि यो क्षेत्र उपनिवेशवादको रूपमा थियो र दास व्यापारको इतिहास बोकेको क्षेत्र हो ।
१९औँ शताब्दीका अमेरिकी राष्ट्रपति जेम्स मोनरोले यो समग्र क्षेत्रलाई संयुक्त राज्य अमेरिकाको प्रभाव क्षेत्र भएको भनी घोषणा गरे । त्यसपछिको स्थितिमा अमेरिकाले कुनै परिवर्तन गरेको छैन । अमेरिकाले मेक्सिको क्षेत्रहरू टेक्सास, क्यालिफोर्निया, नेभाडा, उटह, पश्चिमी कोलोराडो, अरिजोना र न्यु मेक्सिको,भर्जिन आइसल्यान्डस् र पुएर्तो रिकोसम्मका भूभाग अहिलेसम्म कब्जा गरिरहेको छ ।
बाइडेनले यसलाई पछाडिको नभई अगाडिको भाग भनी टिप्पणी गरेका छन् । अमेरिकी राजनीतिक घरानियाँ तथा ल्याटिन अमेरिकाको अवस्थाबारे यी दुई क्षेत्रका बीच ठूलो मतभेद रहेको छ । मोनरो डक्ट्रिनबाट पीडितहरू मेक्सिकोसहितका देशहरू छन् । अमेरिकाले यसक्षेत्रमा सय भन्दा बढी सैनिक हस्तक्षेप र सत्तापलट गरिसकेको छ । सत्तरीको दशकमा सीआईएले यो क्षेत्रका वामपन्थी सरकारलाई हटाउन गरिएको यो गुप्त कार्यक्रमलाई अपरेसन कोनडोर भनिएको छ । अमेरिकाले कम्युनिस्ट सरकारलाई फालेर सैनिक तानाशाही सरकार स्थापना गराउने काम गरेको थियो । सन् १९६४ मा ब्राजिलका लेबर पार्टीका राष्ट्रपति जोआओ गोउलार्टलाई सत्तापलट गराइयो ।
सन् १९७३ मा निक्सन र किसिन्जरले चिलीमा पिनोसेलाई सत्ता कब्जा गर्न सहयोग गरे । जसमा निर्वाचित राष्ट्रपति अलेन्डेको राष्ट्रपति भवनमै हत्या गरियो । ३८ हजार हिरासतमा लिइयो र चार हजारलाई मृत्युदण्ड दिइयो ।
किसिन्जिरले सन् १९७६ मा अर्जेन्टिनामा सत्ता कब्जा लिन जर्ज भिडेलालाई सहयोग गरे । ३० हजार मानिसलाई यातना दिइयो । यसैगरी १९५४ मा पराग्वेमा, १९७१ मा बोलिभियामा र १९७३ मा उरुग्वेमा नवउदारवादी अर्थतन्त्रको प्रयोगशाला चलाएर लूटको साम्राज्य सञ्चालन गर्न दक्षिणपन्थी समूहलाई सहयोग गर्ने काम अमेरिकाले गरेको थियो ।
परिणाम सन् १९७० देखि १९९५ सम्म ल्याटिन अमेरिकाका पाँच करोड मानिस गरिबीमा फसे । सन् १९७० मा ३५ प्रतिशतबाट बढेर २००१ मा ४५ प्रतिशत गरिबी दर बढेको थियो । यो अवधिमा बाह्य ऋण १९७५ मा रहेको ६७ अर्ब ३१ करोड अमेरिकी डलरको तीन गुना, अर्को पाँच वर्ष १९८०मा बढेर दुई खर्ब आठ अर्ब ७६ करोड अमेरिकी डलर पुगेको थियो । सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनको अनुपात १९७० को तीन प्रतिशतबाट बढेर १९८९ मा ८.५ प्रतिशतमा पुगेको थियो ।
१९९९ मा ल्याटिन अमेरिकामा एक प्रगतिशील तरङ्ग भनेजुएलाको निर्वाचनमा ह्युगो चाभेजको जितसँग सुरु भयो । अमेरिकी नवउदारवादी सत्ता विरुद्धको असन्तोष फुटेको थियो । दशक नपुग्दै ब्राजिल, अर्जेन्टिना, उरुग्वे, बोलिभिया, निकारागुवा, इक्वेडर, एल सल्भाडोर र पराग्वेमा वामपन्थी पार्टीहरूले एकपछि अर्को गरी जित हात पारे । निर्वाचनबाट ल्याटिन अमेरिकामा वामपन्थी दल लोकप्रिय भएर सत्तामा पुगेको समय थियो । ब्राजिलको सहयोगमा उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्स स्थापना भयो ।
अमेरिकाको नयाँ खाले हस्तक्षेपले ल्याटिन अमेरिकाका वामपन्थी तथा प्रगतिशील शक्तिलाई फेरि पछाडि धकेल्यो । यसअन्तर्गत सन् २०१२ मा पराग्वेका राष्ट्रपति फर्नान्डो लुगालाई महाभियोग लगाएर सत्ता कब्जा ग¥यो, २०१३ मा भेनेजुएलामा सीआईएले सडक आन्दोलन सुरु गर्न लगायो । सन् २०१६ मा ब्राजिलका राष्ट्रपति रउसफलाई सोही बाटो अपनाइ सत्ताच्युत गरियो भने पूर्व राष्ट्रपतिलाई चुनाव नलड्न पाउने गरी भ्रष्टाचारको अभियोग लगाइयो । सन् २०१९ मा बोलिभियाका राष्ट्रपति मोराल्सलाई सत्ता कब्जा गरी राजीनामा दिन बाध्य पारियो ।
अमेरिकाले अपनाएको फरक खालका हाइब्रिड वार ट्याक्ट्सिका परिणामको रूपमा सत्ताकब्जाको प्रयासहरू भएका छन् । यी देशहरूमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली स्विफ्टको उपयोगमा बन्देज लगाएका अमेरिकाले अहिले रुसलाई आर्थिक नाकाबन्दी अन्तर्गत यसो गरेको छ । यसैगरी पूर्व राष्ट्रपति क्रिस्टिना किर्चनरमाथि दर्जन बढी आपराधिक मुद्दा दायर गरियो । अमेरिकाको हाइब्रिड वार ट्याक्टिस झेलेका यी देशहरूमा फेरि वामपन्थी लहर उदय भयो । सन् २०१८ मा मेक्सीको राष्ट्रपति लोपेज अब्राडर जिते ।
सन् २०१९मा किरचनरवादीहरूको गठबन्धन चुनाव जित्यो । अबल्बर्टो फर्नान्डेज राष्ट्रपतिमा र क्रिस्टिना किरचनरले उपराष्ट्रपतिको चुनाव जितिन । सन् २०२०मा मोराल्स समर्थक मास पार्टीका लुइसआर्सले नयाँ राष्ट्रपतिमा चुनाव जिते । मोराल्सको सरकारमा आर्स अर्थमन्त्री थिए । सन् २०२१ मा पेरुमा पेद्रो क्यासिलोले चुनाव जिते भने चिलीमा ग्याब्रियल बोरिकले चुनाव जिते । होन्डुरसमा पहिलो वामपन्थी महिला नेतृ सिओमारा क्यास्त्रोले चुनाव जितिन् ।
अमेरिकी वर्चस्व शिखरबाट पतन हुन सुरु भइरहेको छ । परिणाम अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको छ । तर, अमेरिकाका घरानियाँहरूले वर्चस्व फर्काउन सकिन्छ कि भनेर चीनलाई घेरा हाल्ने काम अगाडि बढाउन लगाएका छन् । चीन अहिले दोस्रो ठूलो अर्थतन्त्र हो । सन् २०२८ सम्म यो सबैभन्दा ठूलो आर्थिक शक्ति बन्ने अपेक्षा गरिएको छ । चीनले बहुध्रवीय प्लेटफर्म बनाउने प्रयास गरेको र ल्याटिन अमेरिकी देशहरूमा प्रभाव बढाउँदै लगेकाले अमेरिकाले चीनलाई रोक्न अन्तिम भरमग्दुर प्रयास गरिररहेको छ ।


















