प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

36
तत्कालीन माओवादी जनयुद्धका दुई सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच हालै भएको भेटवार्तामा एउटा नयाँ समझदारी भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्ताका क्रममा सो समझदारी भएको थियो । भेटवार्तामा माओवादीधाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको थियो ।
देशमा कम्युनिस्ट पार्टीहरुबीच बेलाबेलामा एकता र फुटको श्रृंखला चलिरहँदा कम्युनिस्ट आन्दोलन कमजोर हुँदै आएको स्पष्ट नै छ । विशेषगरी देशीविदेशी शक्ति र आफ्नै स्वार्थका कारण मिल्न नसकेका कम्युनिस्टहरुका कारण विगतमा विभिन्न कम्युनिस्ट आन्दोलनको क्रममा जनतासमक्ष गरेका वाचाहरु पूरा हुन सकेको छैन । अर्कोतर्फ कम्युनिस्ट दलहरु नै आवरण कम्युनिस्ट विचारधारा बोकेका जस्ता देखिए पनि सारमा भने विकृत संसदीय परम्पराका सारथी र पूँजीवादी संरचनाका मतियारसँग मिल्दाजुल्दा देखिएका छन् । यी सबैको मुख्य कारण हो, कम्युनिस्ट पार्टी तथा नेतृत्वमा आएको फुट र विचलन । यसको सबैभन्दा जोडदार उदाहारण हो, पछिल्लो समय जनयुद्धबाट उदाएको माओवादी पार्टी । यो पार्टीले जनयुद्धताकाको आफ्नो उद्देश्य र सिद्धान्तलाई बिर्सिँदा पार्टीमा धेरैपटक फुट भयो । पार्टीका अध्यक्ष प्रचण्ड लगायत नेता निरन्तर सत्ताको छिनाझपटीमा लाग्दा विप्लवजस्ता धेरै नेता जनताको माझमा पुगिरहे । सर्वहारा वर्गको आधारभूत आवश्यकता र दलाल पूँजीवादको विरोधमा आआफ्नो शैलीमा विरोध र आन्दोलन गरिरहे ।
अहिले यी दुवै नेता सहकार्यको मझदारमा उभिएका छन् । माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढंगले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा नेताहरू एकमत भएका हुन् । विप्लवले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो पनि राखेका थिए । प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिएका थिए ।
आगामी दिनमा उनीहरुबीच कसरी सहकार्य बढ्ला भन्ने आमजनमानसको चासोको विषय हो । शान्ति प्रक्रियामा आएयता प्रचण्डले निरन्तर जनताको भरोसा गुमाउँदै आएका छन् । हरेक निर्वाचनमा माओवादीको मत खस्किनुले पनि यसको पुष्टि गर्छ । यस्तो हुनुको कारण हो, प्रचण्ड र उनको पार्टीले आफ्नो वास्तविक सिद्धान्त र उद्देश्य बिर्सनु, दलाल पुँजीवादी प्रवृत्तिलाई समर्थन गर्नु । त्यही प्रवृत्तिको विरोध गर्दै आएका विप्लवसँगको सहकार्यमा अब प्रचण्ड वास्तवमै सर्वहारा र गरिब वर्गको पक्षमा काम गरेर सच्चिन्छन् कि उनले विप्लवलाई पनि आफूजस्तै बिर्गालान् त यो भने आगामी दिनमा देखिने नै छ, आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here