नेपाली महिला फुटबल टोलीले शनिवार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

42

काठमाडौं । नेपाली महिला फुटबल टोलीले शनिवार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको चेन्नइस्थित जवहारलाल नेहरु स्टेडियममा साँझ पौने ८ बजे खेल सुरु हुनेछ। यसअघि पहिलो खेलमा यी दुई टोली २-२ गोलको बराबरीमा रोकिएका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५६औँ मिनेटमा सौम्या गुगुलोथले भारतलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै, ६८औँ मिनेटमा इन्दुमती काथिरेसनले गोल गर्दै अग्रता दोब्बर बनाइन्। अर्कोतर्फ नेपालका लागि साबित्रा भण्डारीले दुवै गोल फर्काएकी थिइन्। उनले खेलको ९०औँ मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै पहिलो गोल गरेकी थिइन्।

भारतीय डिफेन्डरले पेनाल्डी क्षेत्रभित्र ह्याण्डबल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। त्यस्तै, इन्ज्युरी समयमा साबित्राले नै अर्को गोल थप्दा दुई गोलले पछिपरेको अवस्थाबाट पुनरागमन गर्दै नेपालले खेल बराबरी गर्न सफल भएको थियो। दोस्रो मैत्रीपूर्ण खेलमा पाएका अवसरहरुलाई सदुपयोग गर्नेमा आफूहरु केन्द्रीत हुने नेपाली टोलीका प्रशिक्षक अनन्त थापाले बताएका छन्। ‘भारत पक्कै पनि राम्रो टोली हो। तर, हामीले उनीहरुको सबल र दुर्बल पक्षलाई देखेका छौँ’, नेपाली टोलीका प्रशिक्षक थापाले एआईएफएफसँगको कुराकानीमा भने, ‘हामीले अघिल्लो खेलमा धेरै अवसर पाएका थियौं।

ती अवसरहरुलाई सदुपयोग गर्नुपर्ने आवश्यकता छ।’ थापा अगाडि भन्छन् : मलाई लाग्छ यो एक बराबरीको खेल हुनेछ। अर्कोतर्फ भारतीय टोलीका प्रशिक्षक थोमस डेनर्बीले पहिलो खेलमा आफूहरुले जित ‘डिजर्भ’ गर्ने भएपनि अन्तिम समयमा सम्हालिन नसक्दा पराजय ब्यहोर्नुपरेको बताए। ‘गल्तीहरू हुन्छन्। हामी ति गल्तीहरूको लागि कुनै व्यक्तिलाई दोष दिदैनौँ। हामी गल्तीबाट सिक्ने र अझ राम्रोको लागि सुधार गर्ने प्रयास गर्छौँ’, उनले दाबी गरेका छन्, ‘नतिजाहरूले सधैँ वास्तविक चित्र देखाउँदैनन्।

अन्तिम खेल हेर्ने जो कोहीले हामी राम्रो टोली थियौँ भनेर देख्न सक्छ।’ नेपालसँगको नजिता स्वीकार्न भारतीय प्रशिक्षक डेनर्बीलाई कठीन भएको खेलका क्रममा पनि देखिएको थियो। उनी बोतललाई ‘किक’ हान्दै गरेको देखिएका थिए। भारतीय फुटबल समर्थक बृत्तमा यसको चर्चा पनि राम्रै चलेको थियो। नेपाली टोलीका प्रशिक्षक थापाले अगाडि भने : आशा छ केटीहरूले हामीले प्रशिक्षण मैदानमा काम गरेका कुराहरू लागू गर्न र खेल जित्न सक्षम हुनेछन्।

नेपाल र भारत ओलम्पिक छनोटको तयारी स्वरुप मैत्रीपूर्ण खेलिरहेका छन्। नेपाल र भारतीय महिला फुटबल टोलीले अब खेल्नु पर्ने मुख्य प्रतियोगिता भनेको ओलम्पिक छनोट हो। ओलम्पिकको एसियाली छनोटको पहिलो ‘राउण्ड’लाई चार टिम सम्मिलितको पाँच समूह र तीन टिमको दुई समूह गरि सात समूहमा विभाजन गरिएको छ। ओलम्पिक क्वालिफायर्समा भारत, कीर्गिस्तान र तुर्किमेनिस्तान समूह ‘जी’मा छन्। नेपाल समूह ‘सी’मा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँग छ। छनोटका खेलहरु अप्रिल ३ देखि ११ सम्म हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here