जनयुद्धका एजेन्डा छोडेर जनयुद्ध दिवसको भ्रम किन ? 

20
विगतमा प्रदेश तथा पार्टी स्तरमा मनाइँदै आएको जनयुद्ध दिवसलाई यसपटक भने संघ सरकारले देशभर राष्ट्रिय रुपमा मनाउने निर्णय ग¥यो ।
 तत्कालीन माओवादी जनयुद्ध थालनीका सुप्रिमो कमाण्डर तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवसको दिनमा सार्वजनिक बिदा नै घोषणा गरिदिए । तर हरेक वर्षझैं यस पनि पनि यो दिवस मनाइरहँदा के जनयुद्धका एजेन्डाहरु पूरा भए त ? माओवादीले जनतालाई जुन सपना र भरोसा दिएको थियो, ती पूरा भए त ? भन्ने बहस सृजना भएको छ । त्यही जनयुद्धकै बलमा सत्तामा स्थापित भएका तत्कालीन माओवादीका नेताहरु प्रचण्ड तथा बाबुरामले जनयुद्धको मागलाई कत्तिको न्याय गरे त ? यो प्रश्न अहिले देश र जनताले खोजिरहेको छ ।
२०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग पेस गर्दै माओवादीले जनयुद्ध थालेको थियो । त्यतिबेला माओवादीले गरिब, श्रमिकको जनजीविकाका विषय तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरु उठान गरेको थियो । माओवादीले नेपाल–भारत सन्धि लगायतका सम्पूर्ण असमान सन्धि सम्झौताहरु खारेज गर्न, नेपालका जलसम्पदामा भारतीय कब्जा हटाउन, नेपाल–भारत खुल्ला सिमाना नियन्त्रित र व्यवस्थित गर्न, गोरखा भर्ती केन्द्र रद्द गर्न र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गर्न माग गरेको थियो । तर, पटकपटक सत्तामा पुगेको माओवादी अहिले आफ्नै एजेन्डाबाट भागिरहेको छ भन्दा फरक नपर्ला ।
माओवादीले नेपालको उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पुँजीको आधिपत्य अन्त्य गर्न, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गर्न, साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गर्न माग गरेको थियो । त्यही एजेन्डा लिई जनयुद्ध गरेको र सत्तामा पुगेको माओवादीले आफ्नो नेतृत्व भए पनि यी माग पूरा गर्न सकेको छैन ।
उद्योग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको न्यूनतम ज्याला निर्धारण, सुकुम्वासीहरूलाई बसोबासको उचित व्यवस्था, गरीब किसानहरूलाई पूर्ण रूपले ऋण मुक्त, मल, बीउ सस्तो र सुलभ हुनुपर्ने जस्ता माओवादीका मागहरु ऋहिले सम्म पनि फगत मागमा नै सीमित छ । माओवादीले उठाएका केही एजेन्डा पूरा नभएका पनि होइनन्, तर व्यवस्था बदल्ने तर जीवन नबदलिने कारणले जनतामा अझै पनि निराशा छ ।
त्यसकारण जनयुद्ध दिवस मनाउनुको अर्थ यसलाई केवल सम्झना मात्र गर्नु होइन । जबसम्म जनयुद्धका एजेन्डा पूरा हुँदैनन्, तबसम्म दिवस मनाएर मात्र केही फरक पर्दैन । न त जनयुद्धमा बलिदानी दिएका सहिदहरुप्रति सच्चा सम्मान नै हुनेछ ।
वर्तमान सरकार त्यही जनयुद्धको बलमा आएको पार्टी माओवादीले नेतृत्व गरिरहेको छ । जनयुद्धको नेतृत्व गरेका प्रचण्ड प्रधानमन्त्री छन् । उनले विगतमा आफ्ना सहयात्रीलाई संगठित गर्ने, कम्युनिस्ट नेताहरुले आफ्नो स्वार्थहरु छाड्ने र जनताका जीवनस्तर बदल्न काम गर्ने हो भने पक्कै पनि जनयुद्ध दिवस मनाउनुको औचित्यसिद्ध हुनेछ । त्यही नै जनयुद्धका सहिदहरु प्रति साँचो अर्थमा श्रद्धाञ्जलि हुनेछ, आगे जनयुद्धको ब्याज खाईरहेका साहुहरुलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here