आत्मनिर्भरताको कठोर बाटोबाट नै शक्ति र समृद्धि प्राप्त हुन्छ भन्ने उदाहरण बन्यो उत्तर कोरिया !

46
हालै मात्र उत्तर कोरियाले खाद्य संकटको सामना गरिरहेको समाचार सार्वजनिक भइरहँदा त्यहाँका नेता किम जोङ उनले कृषि उत्पादनमा ‘क्रान्तिकारी परिवर्तन’ गर्न निर्देशन दिएको सञ्चारमाध्यममा आएको छ । कम्युनिस्ट पार्टी तथा नेतृत्वबाट शासित उक्त मुलुकका नेता किमले कृषिमा स्थिर र दिगो उत्पादन गर्नमा जोड दिएका हुन् । अन्य पूँजीवादी मुलुकको सहयोग नलिई आफ्नै जोडबलमा विकासको मार्गमा रहेको उत्तर कोरिया कुनै बेलाको चीनजस्तो अनुमान गर्न सकिन्छ । सामूहिक श्रम तथा उत्पादनका कारण चीनले अभूतपूर्व विकास हासिल गरेको छ । यो विकासमा हरेक वस्तुमा आत्मनिर्भर हुन खोज्ने दृढ राजनीतिक संकल्प महत्वपूर्ण छ । त्यही संकल्प अहिले उत्तर कोरियाली शासकवर्गले पनि देखाएको छ ।
हाम्रो देशमा पनि अहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ । कुनै बेला १० वर्षको जनयुद्ध गरेर शान्ति प्रक्रियामा राजनीतिमा आएको नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन् । उनी तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । उनको पार्टीले जनयुद्ध गर्नुको कारण मुलुकमा सर्वहारा वर्गमाथिको अन्याय, अत्याचार अन्त्य थियो । समाजमा रहेको सामन्ती तथा पूँजीपति वर्गको एकाधिकार तोड्नु र सबै जनतालाई समान विकासको अनुभूति गराउनु जनयुद्धको मुख्य उद्देश्य थियो । देशमा माफिया, दलाल बिचौलियाको दबदबा हटाउनु पनि माओवादीले आफ्नो मुख्य लक्ष्य ठानेको थियो ।
माओवादी शान्ति प्रक्रियामा आएको पनि करिब दुई दशक पुग्न थालिसकेको छ । यसबीचमा अर्को कम्युनिस्ट पार्टी एमालेसँग मिलेर पटकपटक सरकार चलाएको पनि छ । तर, यसबीचमा उसले आफ्नो लक्ष्यअनुसार न दलाल पूँजीवादको अन्त्य गर्न सकेको छ, न त समाजको हरेक क्षेत्रमा हावी बिचौलियातन्त्रको अन्त्य नै गर्न सकेको छ । दलाल पूँजीवादकै कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ भने सरकार टुलुटुल हेरेर बस्ने निरीहता मात्र प्रदेश गर्दै आएको छ । मुलुक अहिले हरेक वस्तुमा आयातमा निर्भर भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउनदेखि माघसम्म) मा ९ खर्ब १९ अर्ब २६ करोडको आयात भएको छ । निर्यात भने ९३ अर्ब ४३ करोड रुपैयाँको मात्र भएको छ । नेपाल कृषिप्रधान मुलुक भनिए पनि धानचामल लगायत कृषि उपभोग्य वस्तु पनि धेरै नै आयात गर्दै आएको छ ।
यही परनिर्भरताका कारण मुलुकले आर्जन गरेको राजस्व र रेमिट्यान्त्र वस्तु आयातमा नै सिद्धिने गरेको छ । यसका कारण मुलुकको अर्थतन्त्र नै डामाडोल हुँदै आएको छ । विश्वका देखिने विभिन्न संकटको असर तत्काल नेपालमा पनि देखिने र सर्वसाधारणको जीवनयापन नै समस्यामा पर्ने गरेको छ । त्यसकारण यी समस्या समाधान गर्न सर्वप्रथम त कृषिलगायत वस्तुमा आत्मनिर्भरताका लागि उत्तर कोरियाको जस्तै दृढ संकल्प नेपाली राजनीतिक दल र तिनका नेतामा आवश्यक देखिएको हो । यसका साथै औद्योगिकीकरण, सेवामूलक क्षेत्रलाई प्राथमिकता दिन पनि आवश्यक छ । अब पनि आफू उत्पादनमा नलाग्ने र विदेशमा कमाएको पैसाले किनेर उपभोग गरिरहने हो भने देश कुनै न कुनै बेलामा ठूलो दुर्घटनामा पर्ने निश्चित छ । आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here