पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई यस्ताे सुविधाकाे व्यवस्था

20

काठमाडौं । कार्यकाल पूरा भएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी ७ वर्ष भन्दा बढी समय शीतलनिवासमा बिताएर बाहिरिएकी छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएर सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै भण्डारीले शीतलनिवास छाडेकी हुन् ।

राष्ट्रपतिको रूपमा भण्डारीले शीतलनिवासमा दुई कार्यकाल बिताइन् । निवर्तमान राष्ट्रपति भण्डारीको दोस्रो कार्यकाल २०७९ साल फागुन २८ गते आइतबार रातिदेखि सकिएको हो ।

के कति पाउँछन् सुविधा ?
पूर्वराष्ट्रपतिको सन्दर्भमा सरकारले मन्त्रीपरिषद्को निर्णय बमोजिम सुविधा उपलब्ध गराउने गरेको छ । पूर्वउपराष्ट्रपतिको नाममा भने हालसम्म ‘कुनै पनि निर्णय भएको नपाइएको’ गृह मन्त्रालयका उप सचिव दिलकुमार तामाङले जानकारी दिए । ‘अहिले चाहिँ पूर्व उपराष्ट्रपति समेतलाई सुविधा उपलब्ध गराउने गरी गृहकार्य भइरहेको बुझेको छु । तर आधिकारिक रूपमा निर्णय भए जस्तो लाग्दैन,’ मन्त्रालयका सूचना अधिकारीसमेत रहेका तामाङले भने ।

उनका अनुसार तत्कालीन नेपाल सरकारको निर्णय अनुसार पूर्व राष्ट्रपतिलाई मासिक ५० हजार रुपैयाँ वृत्ति उपलब्ध गराउने गरिएको छ । त्यस्तै आवास सुविधा अन्तर्गत घर भाडाका लागि मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने गरिएको छ। काठमाडाैंमा घर भएको अवस्थामा मर्मत खर्च भनेर एक लाख रुपैयाँ दिइने गरेको छ । ‘काठमाडाैंमा घर हुनेलाई चाहिँ मासिक दुई लाख रुपैयाँ जुन मैले भने त्यसको आधा रकम उपलब्ध गराइने छ भनेर निर्णय भएको देखिन्छ,’ तामाङले भने ।

पूर्व राष्ट्रपतिलाई सवारी साधन र सो सरह इन्धन उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको अधिकारीहरू जनाउँछन् । पूर्व राष्ट्रपतिलाई सचिवालयको सुविधा पनि सरकारले उपलब्ध गराएको छ । सरकारले उप सचिव स्तरका कर्मचारीलाई निजी सचिव, सवारी चालक, कार्यालय सहयोगी पनि उपलब्ध गराउने गरेको छ । पत्रपत्रिका, बिजुली लगायतको बिल बमोजिम रकम भुक्तानी दिने निर्णय पनि सरकारले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here