भरतपुर । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।
चितवन क्षेत्र नं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन्। कार्यालयले जाँचबुझपछि नामावली पठाउन लागेको हो। अन्तिम नामावली भने चैत १५ मा प्रकाशन हुने उनले बताए।
मतदाता नामावली प्रकाशनसँगै चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। चैत २० मा उमेदवारी दर्ता, चैत २१ मा उमेदवारविरुद्ध दाबी विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्ह प्रदान गरिनेछ। गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो।


















