रामचन्द्र पौडेलले पाएको इतिहास बनाउने अवसर !

28

–निमकान्त पाण्डे

राष्ट्रपति निर्वाचनका लागि राजनीतिक दलहरुबीच चलिरहेको रस्साकस्सी सकिएको छ । देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल जस्तो लामो राजनीतिक अनुभव भएको व्यक्ति पाएको छ । एक पटक सभामुख र मन्त्री बन्ने अवसर पाएका पौडेलले खासै सत्ता र पार्टीमा नेतृत्वदायी भूमिकाको अवसर भने पाउन सकेनन् । हुन त उनले पाएको अवसर सदुपयोग गर्न नसक्दा र नेतृत्व लिनसक्दा पनि सत्ता र पार्टीको शीर्षस्थ भूमिकामा पुग्न नसकेको विश्लेषण गर्न सकिन्छ । तर, पञ्चायतकालदेखि प्रजातन्त्रका लागि संघर्ष गरेका पौडेल अन्य नेताको तुलनामा कम विवादास्पद छवि भएको नेताको रुपमा छन् । लामो राजनीतिक योगदान भए पनि सधैं विफलता मात्र प्राप्त गरेका पौडेलको राजनीतिक जीवन पनि करिब करिब असफलताको डिलमा पुगिसकेको थियो । तर, जीवनको उत्तराद्र्धमा भए पनि देशको सर्वोच्च निकायको प्रमुख बन्ने अवसर पाएकाले उनको राजनीतिक जीवन सार्थक भएको मान्न सकिन्छ ।

नयाँ बनेको गठबन्धनका कारण पौडेलले राष्ट्रपति जस्तो गरिमामय पदमा आसीन हुने मौका पाएका छन् । उनी कांग्रेसको गत महाधिवेशनबाट नै राजनीतिक करियरको अवकाशतिर पुगिसकेका थिए । आफ्नै गुटबाट सर्वसम्मतिको सभापतिको दाबेदार हुनुपर्ने उनको महत्वाकांक्षा पूरा हुन सकेन । उनी उम्मेदवार त बनेनन् नै, मत पनि नहाली महाधिवेशनमा तटस्थ रहे । त्यतिबेला देउवा पक्षप्रति केही नरम देखिएका उनी गत प्रतिनिधिसभाबाट निर्वाचित भए । त्यसपछि कांग्रेस र माओवादी लगायत दलको गठबन्धनबाट राष्ट्रपतिमा आफूलाई अघि सारिने उनमा आशा पलाएको थियो । तर, सत्ताको खेलमा पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बेमेल हुँदा सबैभन्दा निराश उनै पौडेल बने । एमालेसँगको सहकार्यमा प्रचण्ड प्रधानमन्त्री बनेपछि र एमालेलाई राष्ट्रपति दिने सहमति भएपछि पौडेले आफ्नो सपना पूरा नहुनेमा विश्वस्त भइसकेका थिए । तर, दुई महिनामै गठबन्धन फेरिँदा र राजनीतिक दलबीचको सहकार्यमा उतारचढाव आउँदा भने उनै पौडेल राजनीतिक जीवनको उत्तराद्र्धमा सफल साबित भएका छन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेल माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत, लोसपा लगायत दलको सहायतामा राष्ट्रपति बन्न सफल भएका हुन् । लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहेका र भ्रष्टाचार, अनियमितता जस्ता गतिविधिमा संलग्न नरहेका कारण पनि पौडेलको राष्ट्रपतिसम्मको यात्रालाई सबैले प्रशंसा नै गरेका छन् । तर, आगामी दिनमा उनले एउटा कांग्रेस नेताको रुपमा नभई देशको अभिभावकको रुपमा भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन्, जसमा उनी खरो रुपमा उत्रिनुपर्नेछ ।

आलंकारिक पद भए पनि राष्ट्रपतिका लागि दलहरुबीच रस्साकस्सी हुनुले यो पद कति महत्वपूर्ण भएको छ भन्ने स्पष्ट हुन्छ । यस्तो हुनुको मुख्य कारण हो, विगतमा राष्ट्रपतिको सक्रियता र मुख्य विषयहरुमा सरकारलाई रोक्नेसम्मको शक्ति । तत्कालीन एमाले नेतृत्वको सरकार हुँदा सरकारका निर्णयहरु तत्काल स्वीकृत गर्ने र कांग्रेसको सरकार बन्दा निर्णय गर्न समय लगाउने कारणले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा परेकी थिइन् । उनीअघिका राष्ट्रपति रामवरण यादव पनि सरकारको निर्णयमा हस्तक्षेप गरेका कारण विवादमा आएका थिए । आलंकारिक पदलाई कार्यकारी जस्तो गरी चलखेल हुन थालेपछि र सरकारलाई लगाम लगाउने निकायको रुपमा यो पद निर्णायक देखिने भएपछि राजनीतिक दलहरुले राष्ट्रपति आफ्नो पार्टीबाट बनाउन तँछाडमछाड गरेका हुन् । राष्ट्रपति गणतन्त्र नेपालको प्रमुख संस्था हो । देशमा गणतन्त्र कार्यान्वयनको सफलताको सूचक भनेको यो संस्था निर्विवाद रहनु पनि हो । त्यसैले यो संस्थाको नेतृत्व गर्नेले अमूक राजनीतिक दलको पक्षधरता लिने होइन, समग्र राजनीतिक दल, सरकार र देश तथा जनताको नै अभिभावकको भूमिका खेल्न आवश्यक छ । तर, पछिल्लो समय राष्ट्रपतिबाट देशको अभिभावकको रुपमा नभई पार्टीको नेताको जस्तो गतिविधि गर्दा यो संस्था विवादमा पर्दै आएको छ ।

यसपटक पनि राष्ट्रपति निर्वाचनमा दलहरुको रस्साकस्सी खुबै भएको थियो । प्रधानमन्त्री चयनका लागि बनेको एमाले र माओवादी केन्द्रको गठबन्धन राष्ट्रपति निर्वाचनमा आएर टुटेको थियो । माओवादीले एमालेलाई राष्ट्रपति पद दिने सहमति गरे पनि त्यसलाई पालना नगरी पुनः कांग्रेससँग सहकार्य गर्न आएको हो । कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादीसँग सहकार्यको बाटो खुलेको थियो । यही सहमतिको बलमा राष्ट्रपति बनेकाले पनि पौडेलमाथि आगामी दिनमा विगतका राष्ट्रपतिझैं पार्टीको ‘रबरस्ट्याम्प’ बन्ने आशंका देखिएको छ, जसलाई उनले चिर्नुपर्नेछ । जसरी उनले हालसम्म स्वच्छ छविको नेताको रुपमा आफूलाई कायम राखे, त्यसगरी राष्ट्रपतिको भूमिकामा निर्विवाद र पक्षधरता रहित देशको अभिभावक बन्ने अपेक्षा जनताले गरेका छन् , आगे जिम्मेवारी पाएका र अवसर पाएकालाई चेतना भया ! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here