पोखरा । पोखरा वन विज्ञान अध्ययन संस्थान पोखरामा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ ।
क्याम्पसको निर्वाचन समिति कार्यालयमा विद्यार्थी संगठनले तालबन्दी गरेपछि निर्धारित चैत ५ गते निर्वाचन हुन सकेको थिएन ।
मनोनयन दर्ताको प्रक्रिया सुरु नहुँदै तालाबन्दी भएपछि तोकिएको मितिमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।
तर, कतै आन्तरिक विवाद त कतै अदालतले रोक लगाइदिँदा कुनै पनि क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । देशकै सबैभन्दा धेरै मतदाता भएको पृथ्वीनारायण क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा उच्च अदालत पोखराले अन्तरिम आदेश नआउँदासम्मका लागि निर्वाचनका कुनै पनि गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ ।
पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीले दर्ता गरेको समूह अर्कै नाममा प्रकाशन गरिएपछि रिट दायर गरेका थिए भने पश्चिमाञ्चल इन्जिनियरिङ कलेजमा सरकारी सेवासुविधा लिँदै आएका कर्मचारी स्ववियु निर्वाचनमा भाग लिएको भन्दै रिट दर्ता भएको थियो ।
१० हजारभन्दा बढी मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको व्यक्तिगत विवरण निर्वाचन समिति, प्रशासनको मिलेमतोमा निर्वाचन अगावै बाहिर ल्याएको भन्दै विवाद बढेको थियो ।
अखिल क्रान्तिकारी विप्लव, अखिल संयुक्तलगायतले निर्वाचन डाटा ‘लिक’ गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग राख्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि समितिले काम गर्ने स्थिति नबेनेको भन्दै राजीनामा नै दिइसकेको छ ।


















