
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री र सभामुखबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा, सोमबार बिहान भेटवार्ता भएको हो।
‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’मा सत्ता पक्षका सांसदहरुले हालेको संशोधनका विषयमा छलफल गर्न सभामुख घिमिरे प्रधानमन्त्री निवास पुगेका हुन्। नियमावलीमा सत्ता पक्षका सांसदले सभामुखका तजबिजी अधिकार कटौतीका लागि संशोधन हालेका छन्। कार्य व्यवस्था परामर्श समितिलाई बलियो बनाउने र सभामुखका अधिकार कटौती गर्ने सांसदहरुको संशोधनबाट सभामुख घिमिरे झस्किएका छन्। NIMB सोही विषयमा सहमति जुटाउन भन्दै आइतबार प्रतिनिधि सभा बैठक अगाडि सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेका थिए। छलफलमा सत्ता पक्षका सांसदहरुले आफ्नो अडान नफेरेपछि कुनै सहमति जुट्न सकेन। हाल प्रमुख प्रतिपक्ष बनेको नेकपा एमालेबाट सभामुख बनेका घिमिरेले सरकारलाई असहयोग गर्नसक्ने भन्दै सभामुखका रुपमा उनले प्रयोग गर्ने तजबिजी अधिकार कटौती गर्न सत्ता पक्षका सांसदहरुले नियमावलीमा संशोधन प्रस्ताव हालेका हुन्।
सत्ता पक्षका सांसदहरुको बहुमत भएका कारण उक्त संशोधन प्रस्ताव प्रतिनिधि सभाबाट पारित हुने सम्भावना छ। प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे बीचको भेटवार्ताका क्रममा प्रतिनिधि सभामा रहेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’का सन्दर्भमा पनि छलफल भएको जनाइएको छ।

















