पेरिस । फिफा विश्वकपमा साउदी अरबको नेतृत्व गरेका प्रशिक्षक हेर्भे रेनार्ड फ्रेन्च राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन्। रेनार्डले यसै साता साउदीको टिमबाट राजीनामा दिएका थिए।
रेनार्डले फ्रेन्च महिला टिममा कोरिन्ने डियार्सेको स्थान लिनेछन्। फ्रेन्च टिमका केही खेलाडीले उनको नेतृत्वमा फ्रेन्च टिमबाट नखेल्ने घोषणा गरेपछि फ्रान्सेली फुटबल संघले उनलाई बर्खास्त गरेको थियो।
रेनार्डको नेतृत्वमा फ्रेन्च टिमले पहिलो ठूलो प्रतियोगिता विश्वकप खेल्ने भएको छ। महिला विश्वकप २० जुलाईदेखि २० अगस्टसम्म अस्ट्रेलिया र न्युजिल्यान्डमा हुनेछ।
‘रेनार्डलाई फ्रेन्च महासंघबाट प्रस्ताव आएको थियो, त्यसमा उनले इच्छा देखाए,’ साउदी फुटबल महासंघका अध्यक्ष यासिर अल–मिसेहालले भने।
फ्रेन्च नागरिक रेनार्डले सन् २०१९ देखि साउदीको पुरुष टिमको नेतृत्व सम्हालेका थिए। उनको नेतृत्वमा साउदी अरबले विश्वकपमा अर्जेन्टिनाविरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको थियो।


















