काठमाडौं । राजर्षि जनक विश्वविद्यालयमा कर्मचारी र शिक्षकबीचको विवादका कारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अन्योलमा पर्ने थालेको छ।
मधेश प्रदेशको राजर्षि जनक विश्वविद्यालयका कर्मचारी र शिक्षकबीच भएको विवादका कारण अध्ययनरत विद्यार्थीले परीक्षा फारम समेत भर्न नपाउँदा भविष्य अन्योलमा परेको हो। अहिले विश्वविद्यालय आन्दोलनको अखडा बन्दै गएको छ।
त्यसैगरी विश्वविद्यालयमा करिब ११ महिनादेखि उपकुलपति छैनन् भने कर्मचारीको पनि अभाव छ। विश्वविद्यालयको भीसी, रजिस्ट्रार, डीन लगायतका पदाधिकारी नभएको करिब ११ महिनाभन्दा बढी भइसक्यो। विश्वविद्यालयमा ११ महिनाअघिका प्रायः सबै पदाधिकारी कार्यअवधि पूरा गरेर अवकाश प्राप्त गरिसकेका छन्। सरकारले अहिलेसम्म पनि नयाँ कर्मचारी नियुक्त गर्न सकेको छैन। विश्वविद्यालयमा कर्मचारी नहुँदा विद्यार्थीहरूले समयमै परीक्षामा फारम भर्न समेत नपाएको विद्यार्थीहरूको गुनासो छ।
विश्वविद्यालयको बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्रकुमार साहले विश्वविद्यायलको व्यववस्थापन कमजोर रहेको बताए। उनले विद्यार्थीहरूलाई परेको समस्या क्याम्पस प्रमुखलाई भन्नसमेत अहिलेसम्म प्रमुख समेत नभएको गुनासो गरे। उनले परीक्षाको लागि परीक्षा फारमका लागि पहल गर्ने समेत कोही नभएको बताए।
उनले विश्वविद्यालयका कर्मचारी र शिक्षकको विवादका कारण विद्यार्थीको पढाइमा समस्या भएको बताए। उनले विद्यालयमा भर्ना भएको हिसाबले हेर्दा अहिले पाँचौँ सेमेस्टरको पढाइ हुनुपर्ने भए पनि अहिलेसम्म तेस्रो सेमेस्टरको परीक्षाकै तयारीमा विद्यार्थीहरू रहेको बताए।
त्यस्तै अर्का विद्यार्थी रविकुमार साहले विश्वविद्यालय पदाधिकारीविहीन हुँदा परीक्षा फारम भर्नसम्म समस्या भएको बताए। उनले बैंकमा परीक्षा दस्तुर बुझाएर पनि परीक्षा फारम कहाँ गएर भर्ने भन्ने कुनै टुङ्गो नभएको बताए। उनले विश्वविद्यालयका कुलपति प्रधानमन्त्री भए पनि अहिलेसम्म राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान नभएको बताए।
उनले मधेश प्रदेशका मुख्यमन्त्रीलाई विद्यार्थीहरूले जानकारी दिन जाँदा राजर्षि जनक विश्वविद्यालयको विषयमा जानकारी समेत नभएको बताए। उनले विश्वविद्यालयलाई बचाउन केन्द्र सरकारले पहल गर्न आवश्यक रहेको बताए।
विश्वविद्यालयबाट सेवानिवृत्त शैलेन्द्रनारायण मल्लिकले केन्द्र सरकारले विश्वविद्यालयलाई उपेक्षा गर्दा समस्याग्रस्त भएको बताए। उनले सरकार विश्वविद्यालय स्थापना गरेर पदाधिकारीविहीन हुँदा समेत मौन बस्नु जायज नभएको बताए।
उनले विश्वविद्यालयको आफ्नो भौतिक संरचना नरहेकाले समेत समस्या बढ्दै गइरहेको बताए। उनले विश्वविद्यालयको आफ्नो भौतिक संरचना तयार भइदिए आधाभन्दा बढी समस्या समाधान हुने दाबी गरे।
उनले विश्वविद्यालय पदाधिकारी र शिक्षकहरू अनुशासित नहुँदा समस्या भएको बताए। उनले विश्वविद्यालयमा आउने कर्मचारी र शिक्षकहरूले विश्वविद्यालय बचाउनेभन्दा पनि महत्त्वाकांक्षा बढी राखेकाले अहिले समस्या आएको बताए।
राजर्षि जनक विश्वविद्यालयमा बीए एलएलबी, बीबीए, बीसीए, बीएस्सीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठनपाठन हुँदै आएको छ। जनकपुरधामको रामानन्द चोकमा रहेको विश्वविद्यालयको क्याम्पसमा ५ सय विद्यार्थी अध्ययनरत छन्।
विश्वविद्यालयको स्थापना तथा पदाधिकारीको नियुक्तिसँगै त्यहाँको अवस्था अस्तव्यस्त रहेको छ। कहिले करारमा राखिएका उपप्राध्यापकको आन्दोलन त कहिले विद्यार्थीहरूको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई आन्दोलनको केन्द्रमा परिणत हुँदै आइरहेको छ।
विश्वविद्यालयका उपकुलपति झा २०७८ पुस २६, रजिस्ट्रार यादव २०७८ माघ ७, सेवा आयोगका अध्यक्ष लाभ माघ १० गते सेवानिवृत्त भए पनि अहिलेसम्म सरकारले नयाँ नियुक्ति गर्न सकेको छैन।


















