निजी क्षेत्रले व्यापारभन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी

25

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारभन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन्।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार्न निजी क्षेत्रले व्यापारमा मात्रै नभई उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताए। अर्थमन्त्री महतले सरकारको पनि प्रभावकारिता र पारदर्शिता बढाउन आवश्यक रहेको बताए।

उनले निजी क्षेत्रले उत्पादनमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गरे सरकारले लगानीको वातावरण सहज बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायको व्यवस्था गर्ने बताए।

उनले भने, ‘सरकारका पनि कमी कमजोरी रहेका छन्। सरकारले समयमै खर्च गर्न सकेको छैन। समग्र सरकार र निजी क्षेत्र सबैतिर समस्या रहेको छ। राजनीतिक, निजी क्षेत्र र कर्मचारी तन्त्रमा समेत समस्या छ। त्यसैले सरकारको प्रभावकारिता र पारदर्शिता बढाउन जरुरी छ। निजी क्षेत्रको पनि व्यापारमा मात्रै केन्द्रित भइरहेको अवस्था छ। अब लगानीतर्फ केन्द्रित गर्न जरुरी छ।’

अर्थमन्त्री डा. महतले अन्तरराष्ट्रियस्तरमा भइरहेका युद्धको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशतभन्दा माथि हुने दाबी गरे। उनले अन्तरराष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुनसके नेपालको आर्थिक विकास, रूपान्तरण, पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास व्यक्त गरे।

उनले तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधारण खर्चलाई कम गर्नेमा रहेको बताए। उनले सरकारले सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गर्ने साधारण खर्च कम गर्न नसक्ने बताए। उनले सरकारले पुँजीगत खर्चमा वृद्धि गरी बजारमा तरलताको सहजता बनाई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले निजी क्षेत्रको लगानीबाट अर्थतन्त्र चलायमान हुने भन्दै सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए।

अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने वेला भएको बताए। उनले कोभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको बताए। उनले मौद्रिक नीतिमार्फत आयात रोकेका कारण राजस्वमा दबाब तथा बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताए।

उनले सबै समस्याको समाधान गर्न राष्ट्र बैंकको मौद्रिक नीतिमा समीक्षा, निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर परिवर्तनका लागि राष्ट्र बैंकसँग आन्तरिक छलफलमा रहेको जनाए।

अर्थमन्त्री महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि छलफल भइरहेको उल्लेख गरे। उनले घरजग्गाको कित्ताकाट सहज बनाउँदा मात्रै पनि बजार सहज हुने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here