काठमाडाैं । नेकपा (एमाले) को भगिनी संस्था अखिल नेपाल महिला संघ (अनेमसंघ) को अध्यक्षमा टुकाभद्र हमाल निर्वाचित भएकी छन्।
चैत २५ र २६ गते काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले २२५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।सम्मेलनले ६ जना उपाध्यक्ष चयन गरेको छ। जसमा मेनका काफ्ले, मेनुकाकुमारी पोखरेल, रुक्मणी राना, सुमित्रा बीसी, विमला राई पौड्याल र शर्मिला कार्की रहेका छन्। यस्तै‚ महासचिवमा पेम्बा लामा र उपमहासचिवमा शान्ति बस्नेत (अधिकारी) चयन भएका छन्।
समितिको सचिवमा सात जना चयन भएका छन्। जसमा विणादेवी राई, विनादेवी शाह, शारदा कुमाल, नरदेवी पुन, विना ज्ञवाली, आशाकुमारी विक र मिना सिंह रखाल रहेका छन्। कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएकी छन्।
अनेमसंघले ७७ वटै जिल्लाबाट कम्तीमा एक जना केन्द्रीय सदस्य हुने, हरेक प्रदेशबाट युवा, दलित, आदिवासी जनजाति, मधेशी, थारू लगायतको निश्चित कोटा निर्धारण गरेर केन्द्रीय कमिटी चयन गरेको महासचिव लामाले जानकारी दिइन्। सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले सोमबार सपथ ग्रहण गरेका थिए।

















