भारतको पञ्जावस्थित आर्मी क्याम्पमा गोली चल्दा चार जवानको निधन

74

पञ्जाव । पञ्जावको बठिन्डा आर्मी क्याम्पमा बुधबार बिहान अचानक फायरिङ हुँदा ४ जना जवानको निधन भएको छ। मारिने सबै जवानहरू ८० मिडियम रेजिमेन्टको भएको भारतीय समाचार एजेन्सीले बताएका छन्।

आर्मीका अनुसार बिहान ४ बजेर ३५ मिनेटमा फायरिङ भएको थियो। प्रहरी र सेनाको टिमले यो घटनाको अनुसन्धान गर्ने भएको छ। यो घटनामा शंका गरिएका व्यक्ति पक्राउ परिसकेको र सोधपुछ जारी रहेको समाचार एजेन्सीको भनाइ छ।

पञ्जाव प्रहरीले आर्मी क्याम्पमा भएको घटना आतंकवादी हमला नभएको दाबी गरेको छ। ‘रेजिमेन्टकै जवानबीच भएको फायरिङ हो,’ उसले भनेको छ। सेनाले सबै एंगलबाट अनुसन्धान भइरहेको बताएको छ।

दुई दिनअघि गार्ड रूमबाट इन्सास राइफल र गोली हराएको थियो। प्रहरी र आर्मीले यही राइफलबाट फायरिङ भएको आशंका गरेको छ। फायरिङपछि पूरै आर्मी क्याम्पलाई सील गरिएको छ। यहाँ मानिसलाई आउन–जान रोक लगाइएको छ।

केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले पूरै घटनाको अनुसन्धान भइरहेको बताएका छन्। आर्मी प्रमुख जनरल मनोज पाण्डेले घटनाको बारेमा अवगत गराउने समाचार एजेन्सीको भनाइ छ। रक्षामन्त्री सिंहले घटनाको विषयमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभललाई जानकारी गराइसकेका छन्। पञ्जावमा हाल छुट्टै खालिस्तान राज्यको माग गर्दै आन्दोलन भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here