नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण जनस्वास्थ्यका लागि ‘अस्वस्थकर तह’ अर्थात् वैजनी रङमा पुग्दा पनि नियन्त्रण प्रयास फिक्का देखिएका छन् ।
वायु गुणस्तर सूचकांक (एक्यूआई) मा २४५ अंकसहित बिहीबार अपराह्न काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा चौथो स्थानमा थियो । सोही समयमा वातावरण विभागले राजधानी सहर काठमाडौंको शंखपार्कमा जडान गरेको प्रदूषण मापक स्टेसनले त यो अंक ४०४ पुगेको देखाएको थियो ।
विपत्सम्बन्धी सूचना उपलब्ध गराउने सञ्जाल नेपाल डिजास्टर वाचका अनुसार बुधबार राति राजधानीस्थित अधिकांश प्रदूषण मापक स्टेसनहरूले प्रदूषण वैजनी रङको तहमा उक्लेको देखाएका थिए। बिहीबार साँझको तथ्यांक पनि झन्डै त्यस्तै देखियो ।
वैजनी रङभन्दा माथिको तह अर्थात् ३०० भन्दा माथिको एक्युआइलाई मरुन रङ (गाढा रातो) दिइएको छ, जुन जनस्वास्थ्यका लागि घातक तह मानिन्छ । यो समाचार नागरिक दैनिकमा छ।


















