भाेलिदेखि नेपाली क्रिकेट टाेलीले महत्वपूर्ण अध्यायको थालनी गर्दै

46

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबारबाट घरेलु मैदानमा अर्को महत्वपूर्ण अध्यायको थालनी गर्दैछ। एसीसी प्रिमियर कप क्रिकेट नेपालका लागि एसिया कपको ढोका भएकाले पनि घरेलु मैदानमा नेपाल अर्को एउटा ऐतिहासिक उपलब्धिको प्रयासमा नयाँ वर्षको  थालनी गर्दैछ।

प्रतियोगिताको उपाधि विजेता टिम एसिया कपका लागि छनोट हुनेछ। भारत र पाकिस्तानजस्ता बलिया टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने लक्ष्य पूरा गर्न पनि नेपालका लागि यो अभियान महत्वपूर्ण रहेको छ। नेपालले प्रतियोगितामा समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गर्नेछ। जहाँ नेपालले ओमान, कतार, मलेसिया र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा नेपालसहित ओमान, युएई र हङकङलाई दाबेदार मानिएको छ। तर, नेपालको पछिल्लो उत्कृष्ट लय कायमै राखे मुख्य दाबेदार घरेलु टोली नै हुनेछ। १० टिम रहेको प्रतियोगिताको समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन्। खेल त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ।

नेपाल भोलि मलेसियासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्दैछ। टियू क्रिकेट मैदानमा हुने खेलमा नेपाल पहिलो खेलबाटै आफ्नो दाबेदार छवि कायम राख्न चाहन्छ। त्यस्तै, ८ गते त्रिवि मैदानमा नेपालले आफ्नो दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दा ११ वैशाखमा नेपालले साउदी अरबसँग मूलपानी क्रिकेट मैदानमा खेल्ने छ।

नेपालले मूलपानी मैदानमा नेपालले खेल्ने यो एकमात्र खेल हो। समूह चरणको अन्तिम खेलमा नेपालले १४ गते कतारसँग त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ। समूह ‘ए’ र ‘बी’ का शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्। सेमिफाइनल खेल १६ वैशाखमा हुँदा १७ वैशाखमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। त्यस्तै, प्रतियोगिताको फाइनल १८ वैशाखमा हुनेछ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै १२ खेलमध्ये ११ जित निकालेको नेपालले अभ्यास खेलमा पनि ओमानलाई हराएर अपराजित यात्रालाई जारी राखेको छ। त्यसैले नेपाल एसिया कपमा पुग्ने आफ्नो लक्ष्य साकार पार्दै नयाँ वर्षमा आफ्नो बलियो छवि कायम राख्ने ध्याउनमा मैदानमा उत्रिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here