प्रधानमन्त्रीको भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग

65

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग गर्नुभएको छ । उहाँले गण्डक, सुस्ता र कोशीका कारण हुने डुवान र कटानबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्नुहुँदै स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

मङ्गलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा धारणा राख्नुहुँदै कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य चौधरीले भन्नुभयो, ‘‘५० वर्षदेखि बर्दघाट सुस्ता पश्चिमको निरन्तरको पीडा, आक्रोश, उपेक्षा र चरम दरिद्रताको विषय म यहाँ उठाउँदैछु । हरेक वर्ष सुस्ता र गण्डकका हजारौं परिवार र हजारौं परिवारका खेत डुवानमा पर्छन् । अर्बाैको क्षति हुन्छ । भारत र नेपालबीचमा ५० वर्ष पुराना संरचना पुनर्निर्माणका लागि कुनै द्विविधा छैन । पटकपटक सहमति सम्झौता भएका छन् । प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो विषय अत्यन्तै महत्त्वपूर्ण एजेण्डाका रुपमा प्रवेश गरोस् । ५० वर्षदेखि थुप्रिएका गण्डक र कोशीका समस्याको समाधानका लागि प्रष्ट खाका बाहिर आओस् ।’’

उहाँले १५ मेगावाटको सूर्यपुरा पावलप्लाण्ट तीन मेगावाटमा मात्रै सञ्चालनमा आएको भन्दै उक्त आयोजनालाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘‘यो पावरप्लाण्ट पनि पूर्ण क्षमतामा सञ्चालन ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु,’’ उहाँले भन्नुभयो ।

नेपाल र भारत सरकारबीचको गण्डक सिंचाइ तथा जलविद्युत् आयोजना सम्झौता बमोजिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरामा १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत निर्माण भएको हो तर उक्त परियोजनाको क्षमता १५ मेगावाट भए पनि अहिले ३ मेगावाटमात्रै विद्युत उत्पादन हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here