ओमानविरुद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य

56

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानविरुद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङका लागि मैदानमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो।

एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो। नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले। ६४ बल खेलेका उनले १० छक्का र ९ चौकाको सहयोगमा १ सय ८ रनको महत्वपूर्ण योगदान गरे। युवा अलराउण्डर कुशलको एकदिवसीय क्रिकेटमा यो पहिलो शतक हो। सोमपाल कामी ६३ र करण केसी २९ रनमा अविजित रहे।

भीम सार्कीले ३३, आरिफ शेखले २९, कप्तान रोहित पौडेलले २३ रन बनाउँदा सन्दीप लामिछाने ८ र दीपेन्द्र सिंह ऐरी ७ रनमा आउट भए। अब केहीबेरमा ओमानले जवाफी ब्याटिङ थाल्नेछ।

यसैबीच आजको खेल लेग स्पीनर सन्दीप लामिछानेका लागि महत्वपूर्ण छ। आजका खेलमा विकेट लिए लामिछानेले एकदिवसीय खेलमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान आफ्नो नाममा बनाउनेछन्। सन्दीपले ४१ खेलमा ९९ विकेट लिइसकेका छन्। हाल यो कीर्तिमान ४४ खेलमा १ सय विकेट पूरा गरेका अफगानिस्तानका बलर राशिद खानको नाममा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here