सांसदहरुले उठाएका प्रश्नहरु वेबसाइटमा राख्ने व्यवस्था गर्न माग

29

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।

संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको उल्लेख गर्नुहुँदै सांसद कार्कीले ती प्रश्नहरु र त्यसको अवस्थाबारे आम नागरिकलाई हेर्नेगरी वेबसाइटमा व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद कार्कीले भन्नुभयो, ‘‘हामी संसदमा आईपुग्न निर्वाचनमा अर्बौ खर्च हुन्छ । एक दिनको संसद बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था छ–७ दिन भित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ ।’’

मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहोर्‍याउनु भयो । उहाँले ललितपुरमा स्वास्थ्य बिमा, स्वास्थ्यकर्मीहरुको थप दरबन्दी र नख्खु–भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो ।

सांसद कार्कीले भन्नुभयो, ‘‘तर खैं ललितपुरमा स्वास्थ्य विमा कहिले आउँछ ? नख्खु–भैंसेपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ ? यी प्रश्नहरुको जवाफ आएन । यो सदन हामी सांसदहरुको भन्दा पनि सार्वभौम नेपाली जनताको बढि हो । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु । के–के प्रश्न उठे, ती प्रश्नहरुको अवस्था के छन ? आम नागरिकले हेर्ने गरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस् ।’’

सांसद कार्कीले सरकारका मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्ति समेत जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here