सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउनु पर्छ : बामदेव गाैतम

52

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन्।

शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफ्नो आवश्यकताबमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी विस्तार गरी काम अघि बढाउनुपर्ने बताएका हुन्।

उनले देशको लागि आवश्यक जनशक्ति यहीँ नै उत्पादन गर्नसके मात्रै शिक्षा क्षेत्रको विकास हुने उल्लेख गरे।

उनले सरकारले स्वदेशमै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने बताए।

उनले शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने पनि बताए।

‘उच्च शिक्षामा नेपालको सरकारले पूर्ण रुपमा निःशुल्क गराउन सक्नुपर्छ। आफ्नो आवश्यकताबमोजिम प्राविधिक र गैरप्राविधिक क्षेत्रमा अघि बढाउनुपर्छ। हाम्रो आवश्यकता हो। हामीले त्यो आवश्यकताका निम्ति त्यस्ता विज्ञ व्यक्ति तयार गर्नसक्छौँ र बाहिर हामीले पठाएर वैदेशिक मुद्रा आर्जन गर्नसक्ने गरी हामी जानुपर्छ। नपढेका, नजानेका हस्ताक्षर गर्न नसक्ने व्यक्ति जानुभन्दा त यस्ता मानिस जानु हाम्रो निम्ति गौरवको विषय हुन्छ। त्यस्तो शैक्षिक शक्ति कति उत्पादन गर्ने? कति हाम्रो देशको निम्ति आवश्यकता छ।’

सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्ने भन्ने बारेमा राज्य संवेदनशील हुनुपर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here