आगामी आर्थिक वर्षको बजेटमा कमैयालाई पुनःस्थापना गर्न बजेट विनियोजन गर्न माग

41

काठमाडौं । मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले आगामी आर्थिक वर्षको बजेटमा आफूहरुलाई पुनःस्थापना गर्न बजेट विनियोजन गर्न माग गरेका छन्।

आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाको प्रतिनिधि टोलीले आगामी आर्थिक वर्षको बजेटमा पुनःस्थापनाका लागि बजेट विनियोजन गर्न माग गरेको हो।

सरकारले पटक पटक गरेर कमैया, कमलरी, हलिया र हरवाचरवालाई मुक्तिको घोषणा गरेको तर हालसम्म सरकारको नीति तथा कार्यक्रममा पुनःस्थापनाको कार्यक्रम नराखेको भन्दै यसपटकको बजेटमा पुनःस्थापनाको कार्यक्रम राख्न माग गरिएको मुक्त कमैया विकास मञ्च कैलालीका कार्यक्रम संयोजक इन्द्रजित चौधरीले बताए।

उनले आगामी बजेट हरवाचरवाको पक्षमा आउनुपर्ने माग गरिएको उल्लेख गरे।

ज्ञापनपत्रमा मुक्त कमैया, कमलरी, हलिया, हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसहरुलाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ।

पुनःस्थापनासम्बन्धी कार्यविधि पारित गर्न, हरवाचरवाको लगत संकलन गर्न र हरवाचरवासमेत मिटरब्याजको समस्यामा परेका कारण सो समस्याको समाधान गर्नसमेत माग गरिएको छ।

मुक्त कमैयाहरु हाल जुन भूमिमा छन् सोही जमिन नापी गरी लालपूर्जा दिनुपर्ने, कमैयाले प्राप्त गरेको जग्गा बैंकमा राखी ऋण लिन पाउने नीतिगत व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न माग राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here