काठमाडौं । राष्ट्रिय सभा सदस्य समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले भारत भ्रमणको तयारीमा रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई चार बुँदे सुझाव दिनु भएको छ ।
सुझावमा गौतमले प्रधानमन्त्रीलाई नेपाली भूमि कालापानी क्षेत्रबाट भारतीय सुरक्षा फौज हटाउन र इपिजी लागू गर्न सहमत गराउन सुझाव दिनु भएको छ । गौतमले देशको अवस्था अजिंगर र सिंहको बीचको अवस्था छ । यो अवस्थालाई बचाउने जिम्मेवारी निर्वाह गर्न पनि सुझाव गर्नु भएको छ ।
गौतमले नेपालको पश्चिमी सिमाना लिम्पियाधुरालाई चीन भारत र नेपालको त्रिदेशीय सीमाना हो भन्ने कुरामा चीन र भारतलाई सहमत गराएर मात्र पञ्चेश्वर परियोजना अगाडि बढाउन पनि सुझाव दिनु भएको छ । गौतमले राष्ट्रिय सभाको रोष्ट्रममा उभिएर आज दिनु भएका सुझावहरु निम्न अनुसार छन् ।
सम्मानीय अध्यक्षज्यू, प्रधानमन्त्रीज्यूको आशन्न भारत भ्रमणका सन्दर्भमा केही सुझावहरु प्रस्तुत गर्न म उभिएको छु । मेरा सुझावहरु यस प्रकार छन् ः—
१. हाम्रो देश एकातिर अजींगर र अर्कोतिर सिंह भएको अवस्थामा छौं बचेर धाउनु होला ।
२. इपिजी लागु गर्न र कालापानी क्षेत्रबाट अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा फाैज जति सक्दो हटाउन सहमत गराउनु होला ।
३. लिम्पियाधूरा त्रीदेशीय नेपाल, चीन र भारत बीचको सीमाविन्दु हो भन्नेमा भारत र चीनलाई सहमत नगराउँदा सम्म पंचेश्वर जल विद्युत परियोजना नेपालका पक्षमा नहुने भएकाले यस्मा नेपालको संलग्नता नजाउनु होला ।
४. नेपालका ठूला उद्योगपति र सबै धनपतिहरुले मिलोमतोमा लाखको धितो राखेर खर्बौ रुपैया नेपाली बैंकहरुबाट लगेका छन् र देशभित्र र बाहिर लगानी गरेर कालोधन कमाइ रहेका छन् । अहिले बैंकहरुसँग लगानीका निम्ति पैसा छैन । अख्तियारले तुरुन्त यस्ता कारोबारमा घुसेर जाँच पडताल गरोस् । सरकारले अख्तियारालाई यस्तो आदेश गर्न जरुरी छ ।


















