भक्तपुर । सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा यसको सुनिश्चितता गरिएपछि पुनःनिर्माणको सुनिश्चिता भएको हो । भूकम्पका कारण क्षति भएको भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणलाई निरन्तरता दिने बजेटमा उल्लेख भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रको पुनःनिर्माण सुरु हुने भएको छ ।
यसले भक्तपुरका बासिन्दाको खानेपानी, सिँचाइको आवश्यकतालाई पूरा गर्ने अभियानको सुरुवात भएको चाँगुनारायण नगरपालिकाकाले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत भक्तपुर, थिमि, पेप्सिकोला क्षेत्रमा पाइपलाइन निर्माण गरिने तथा सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत निर्माणाधीन भक्तपुरको दधिकोट खानेपानी आयोजना आगामी आवभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बजेट विनियोजन गर्नुले खानेपानीको अभावपूर्तिमा राहत पुग्ने विश्वास लिएको छ ।
राष्ट्रिय अभियानको रुपमा सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरी भक्तपुरको कटुञ्जे ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्ने बजेटले व्यवस्था गरेको छ । हिंसापीडित महिलाको पुनःस्थापना गर्न भक्तपुरको सूर्यविनायकमा मङ्गला–साहना पुनःस्थापना केन्द्र निर्माण गरिने बजेटले व्यवस्था गरेको छ । सडक पूर्वाधारतर्फ बजेटमा भक्तपुरको ठूलो परियोजनाअन्तर्गत यातायात पूर्वाधार शीर्षकमा सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरेको छ ।


















