डढेलोले पाइप जल्यो, पाल्पाको निस्दीवासीलाई खानेपानीको समस्या

116

पाल्पा । डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ। जंगलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो।

मोलोगैरा सामुदायिक वनमा लागेको आगोले खानेपानी ल्याइएको पाइपमा क्षति पुगेको छ। वन क्षेत्रभित्रको २५० मिटर पाइप जलेपछि खानेपानीको समस्या निम्तिएको छ। यहाँका सोमै थर र थाम थरका १० घरपरिवारलाई पानीको समस्या भएको स्थानीय तिलबहादुर सुनारीले बताए। उनका अनुसार करिब साढे दुई मिटरको पाइप जलेर नष्ट भएको छ।

सडक निर्माणको क्रममा जमिनमुनि गाडिएको पाइप बाहिर निकालेका पाइपमा क्षति पुगेको छ। निस्दी गाउँपालिका–४ झ्याल्टुङको मुहानबाट ल्याएको पानी स्थानीयले वषौँदेखि पिउँदै आएका थिए। पाइप जलेपछि स्थानीयले मुहानबाट घण्टौँ लागेर पानी बोकेर खाने बाध्यता सिर्जना भएको स्थानीय मञ्जु सारुले बताए।

गाउँमा लिफ्टिङ प्रणालीको योजना रहेता पनि घाम लागेका समय पानी आउने र अन्य समय बन्द हुने हुँदा मुहानबाटै पानी बोकेर पिउनुपरेको स्थानीयले बताएका छन्। वन डढेलोका कारण बर्सेनी स्थानीयले सास्ती भोग्नु परिरहेको छ। जथाभावीरूपमा  जंगलमा आगो लगाउने कार्यले पाल्पामा हरेक वर्षजसो नै विभिन्न क्षति हुने गरेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here