दक्षिण अमेरिकी फुटबल राष्ट्र उरुग्वे यू–२० विश्वकपको च्याम्पियन

57

एजेन्सी । दक्षिण अमेरिकी फुटबल राष्ट्र उरुग्वे यू–२० विश्वकपको च्याम्पियन बनेको छ । उरुग्वे इटालीको यू–२० फुटबल टोलीमाथि १–० को कठिन जित निकाली विश्व च्याम्पियन बनेको हो । अर्जेन्टिनामा आइतबार राति भएको उपाधि भिडन्तमा उरुग्वेलाई च्याम्पियन बनाउन लुसियानो रोड्रिग्वेजले खेलको ८६औँ मिनेटमा एक मात्र निर्णायक गोल गरेका थिए ।

उरुग्वेले तेस्रोपटकको फाइनलमा उपाधि हात पारेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ को फाइनल खेलेको थियो । उरुग्वे १९९७ मा अर्जेन्टिनासँग फाइनलमा पराजित भयो । सन् २०१३ मा उरुग्वे फ्रान्ससँग स्तब्ध भएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक यू–२० विश्वकपको फाइनलमा उरुग्वे र इटालीका खेलाडीले प्राप्त अवसर सदुपयोग गर्न सकेनन् ।

इटालीका एन्डरसन डुआर्टेले पहिलो हाफमा उत्कृष्ट मौका पाएका थिए । उनले क्लोज रेन्जबाट गोल गर्न सकेनन् । दक्षिण कोरियालाई पराजित गर्दै इटाली फाइनलमा पुगेको थियो । उरुग्वेले सेमिफाइनलमा इजरायललाई हराएको थियो । प्रतियोगितामा इजरायल तेस्रो भएको छ ।

प्रतियोगितामा इटालीका सिसर कासाडेइ विश्वकपको सर्वाधिक गोलकर्ता भए । उनले विश्वकपमा सर्वाधिक सात गोल गरेका थिए । अर्जेन्टिनामा २० मेबाट सुरु भएको विश्वकपमा ६ महादेशका २४ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको थियो । प्रतियोगिता अर्जेन्टिनाको चार सहरमा खेलाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here