विसं २०७६ वैशाख ७ गते नमूना सदरमुकाम निर्माणको योजना अघि बढेको थियो । करिब रु १६ अर्ब लागतमा नमूना सदरमुकाम निर्माण गर्ने योजना रहेको थियो । तर भवन निर्माण कुन ढङ्गबाट अघि बढाउने अझै अन्योलता रहेको जनाइएको छ । सुरुमा एकीकृतरूपमा सबै कार्यालयको सेवा एकै स्थानबाट दिने गरी भवन बनाउने योजना रहेको थियो । पछि उस्तै प्रकारका सेवाका प्रकृति भएका दुई कार्यालय जोडेर भवनको डिजाइन तयार पारिएको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले सोहीअनुसार काम अघि बढाउने योजना बनाएको भए पनि बहुवर्षीय कायम गर्ने विषय अर्थ मन्त्रालयबाट निर्णय नहुँदा काम कसरी बढाउने भन्ने नै अन्योलता सिर्जना भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारीदिनुभयो ।
उहाँले अनुसार रु तीन अर्ब ६८ करोडको काम गर्ने गरी बहुवर्षीयका रूपमा अघि बढाउन तयारी गरिएकामा केन्द्रबाट बहुवर्षीयका लागि स्वीकृत नहुँदा के गर्ने भन्ने अन्योल सिर्जना भएको बताउनुभयो । एकै वर्षमा निर्माणको काम सम्पन्न गर्न नसकिने हुनाले आफूहरूले बहुवर्षीय योजनामा राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो । “हामी तयारीमै थियौँ, बहुवर्षीयका लगि काम अघि बढाउने योजना थियो, तर बहुवर्षीयका लागि स्वीकृत नहुँदा के कसरी अघि बढ्ने अन्योल छ”, कार्यालय प्रमुख थापाले भन्नुभयो, “ठूलोरूपमा काम अघि बढाउने भन्दा, सानो रकम पनि हराउँला भन्ने डर भइसक्यो ।”
नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरी प्रारम्भिक गुरुयोजना तयार पारिएको थियो । साथै पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनासमेत निर्माण गर्ने योजना रहेको छ । यी संरचना निर्माणका लागि चार वर्ष पहिले योजना अघि सारिएको थियो । तर निर्माणस्थलमा कच्ची बाटो बनाउने कामबाहेक हालसम्म कुनै कार्य अघि बढ्न सकेको छैन । रासस


















