अत्यधिक गर्मीले कपिलबस्तु जिल्लाको जनजीवन प्रभावित

101

तौलिहवा। केही दिनदेखि बढेको अत्यधिक गर्मीले कपिलबस्तु जिल्लाको जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन्।

सहर चोक चौराहमा दिउँसो चहल पहल घटेको छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको सङ्ख्या कम छ । स–साना बालबालिका तथा वृद्ध वृद्धाहरूलाई गर्मीले बढी असर गरेको छ । गर्मीले ज्याला मजदुरी गर्नेहरु सबैभन्दा बढी प्रभावित भएका छन् । अत्यधिक गर्मीका कारण शैक्षिक संस्थाहरु पनि बन्द गरिएको छ ।

शिक्षा शाखा प्रमुख हरी प्रसाद ज्ञवालीका अनुसार यस क्षेत्रमा अत्यधिक गर्मी भएको कारणले विद्यालयहरुमा पठन पाठन गर्न कठिनाई भएकोले गर्मी विदा दिइएको जनाउनुभयो। अत्यधिक गर्मीका कारण विद्यार्थीहरुलाई विद्यालय आउन जना र सिकाई क्रियाकलपमा समस्या भएकोले नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी विदा दिइएको उहाँले जनाउनुभयो । कपिलबस्तु नगरभित्रका विद्यालयहरुमा आइतबारदेखि पुनः सञ्चालन हुने उहाँको भनाइ छ ।

गर्मीका कारण कपिलबस्तु अस्पतालमा दिनहुँ दुई सयदेखि दुई सय पचासको हराहरीमा बिरामी आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.विपिन जयसवालले जनाउनुभयो । अस्पतालमा गर्मीका कारण झाडापखाला, आउ, पानीको कमि, ज्वारो आउने, मासपेशी दुख्ने लगायतका विरामीहरु आउने गरेको उहाँको भनाइ छ ।

कपिलबस्तु सहित तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेकोले जिल्लास्थित पालिकाहरुलाई विभिन्न किसिमका साचेतना मुलाक कार्यक्रमहरु सञ्चालन गर्ने निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जनाउनुभयो । यहाँका बासिन्दाले गर्मीयाममा प्रायः लस्सी, आइसक्रिम, कुल्फी  र उखुको रस अधिक सेवन गर्ने गर्दछन् ।

लुम्बिनी प्रदेशको कपिलवस्तु, रुपन्देही, दाङ्ग, बाँके लगायतका मध्यतराईका जिल्लाहरुमा विगत एक सातादेखि दैनिक ४० देखि ४४ डिग्री सेल्सियस सम्म तापक्रम बढ्ने गरेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here