जनगणनामा भएको जातिहरू बारेमा आवश्यक कुरा सच्याउने : प्रचण्ड

54

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जातिहरूलाई फुटाएर राष्ट्रको हित नहुने बताएका छन्।

भूमे पर्वको अवसरमा नेपाल मगर संंघद्वारा खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीले जनगणनामा भएको जातिहरू बारेका विषयमा स्पष्ट गर्ने र आवश्यक कुरा सच्याउने प्रतिबद्धता पनि व्यक्त गरे। उनले भने, ‘नेपाल बहुजाति, बहुभाषा, बहुसंस्कृति र भौगोलिक विविधता सहितको देश हो । यो हाम्रो ऐतिहासिक विरासत र नेपालको एउटा विशिष्ट राष्ट्रिय पहिचानको अभिव्यक्ति पनि हो ।’

प्रधानमन्त्रीले प्रकृतिको पूजा गर्नुको पछाडि निश्चित दर्शन र उद्देश्य अन्तर्निहित रहेको उल्लेख गर्दै मानिस पनि प्रकृतिकै एक अंग भएको बताए।

‘मानिस र प्रकृतिको बीचको सम्बन्ध कसरी सुरक्षित राख्ने र कसरी संरक्षण गर्ने भन्ने उद्देश्यसहित यस्ता पर्वहरू मनाउने गरिएको हो । मगर समुदाय मात्र नभई आदिवासी जनजाति सबैले नै प्रकृतिको पूजा गर्ने संस्कार छ। प्रकृतिको पूजा एउटा समुदायमा मात्र सीमित छैन। प्रकृतिको संरक्षण र सुरक्षा गर्ने कुरा मानव जाति कै हितसँग जोडिएको छ ।’ प्रधानमन्त्री प्रचण्डले भने।

यस्ता पर्व मनाउनुको तात्पर्य नयाँ राष्ट्रिय एकता कायम गर्नु पनि भएको उनको भनाई थियो । प्रकृतिलाई विनाश हुन नदिन र जलवायुको संरक्षण गर्ने कुरासँग सिंगो प्रकृति र मानिस बीचको अन्तरसम्बन्धलाई कायम गर्ने उद्देश्यद्वारा प्रेरित रहेको उनको धारणा थियो ।

‘मैले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकताका निम्ति आन्दोलन गर्दैगर्दा हिजोका राज्य संयन्त्रद्वारा सबै जातजाति, भाषाभाषी, वर्ग समुदाय अपमानित, उत्पीडन र विभेदमा पारिएका थिए। ती सबैलाई साथमा लिएर नै ठूलो आन्दोलनको सृष्टि भएको हो । ती सबै जातजाति, भाषाभाषी, वर्ग, क्षेत्रका जनसमुदायको संघर्ष र बलिदानको कारणले नै अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं।’ प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय एकता र स्वाधिनताका साथै हामी सबैको अधिकार र पहिचानका पक्षमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here