
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अर्गानिक मल कारखानाको आवश्यकता भएको बताउनुभएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो।
हामीसँग भएका स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना नेपालले बनाउन सक्ने बताउनुभएको हो। उपमहासचिव शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि संघीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योग स्थापना गर्ने, कोल्ड स्टोर स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो।
उहाँले भन्नुभयो, ‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ। नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन। तर अर्गानिक मल कारखानाको आवश्यकता छ। त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। कृषिमा आधारित उद्योगलाई संघले अध्ययन र अनुसन्धान गर्ने, विज्ञको उपलब्धता गराउने र प्रदेशले प्रशोधन उद्योग स्थापना गर्ने, कोल्ड स्टोर बनाउने र स्थानीय सरकारले उत्पादनमा जोड दिने, बाँझो जमिनको प्रयोगमा ध्यान दिनुपर्दछ।’
शर्माले कृषि अनुदानको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराउनुभयो।
















