काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले भेटवार्ता गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा बिहीबार भएको शिष्टाचार भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवं भ्रमणहरुको स्मरण गरेका थिए ।
भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद) ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानूनहरु निर्माण गर्दै गएको जानकारी गराएका थिए । साथै उनले बालबालिका सम्बन्धी कानून पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको बताएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सन् १९७४ मा नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएयता दुई देशहरु बीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको छ ।


















