टोकियो । जापानमा हराउने मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा ८४ हजार ९१० पुगेको छ ।
जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको हो।
यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१२ मा तुलनात्मक तथ्याङ्क सार्वजनिक गर्न थालिएदेखि बेपत्ता हुनेको सङ्ख्या क्रमशः बढ्दो क्रममा छ । यो सङ्ख्या एक दशकमा झन्डै दोब्बर भएको छ।
तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौँतारिएपछि हराएको उल्लेख गरिएको थियो।
स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शङ्का लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड) राख्न आग्रह गरिरहेका छन् ।


















