सांसद देवकोटाले बजेट मन्त्री र नेतामुखी भएको आरोप लगायाे

39
काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालिन समयको जस्तो’ भएको टिप्पणी गरेका छन्।  प्रदेशका मुख्यमन्त्रीहरुले अहिलेको बजेटलाई राणाकालमा आएको बजेटको रुपमा चित्रण गरेको उनको जिकीर थियो।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै सांसद देवकोटाले ६० प्रतिशत कामको लोड प्रदेश र स्थानीय तहलाई भए पनि सरकारले २३ प्रतिशत मात्रै बजेट विनियोजन गरेर संघीयताको भावना र मर्मविपरीत काम गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘ ‘संघीयतामा आएपछिको पहिलो बजेटबारे प्रदेशका मुख्यमन्त्रीहरुले के जवाफ दिनु भएको थियोभने यो बजेट पञ्चायतकालीन जस्तो छ। त्यो बेला त्यसो भन्ने मुख्यमन्त्रीहरुलाई अहिले मैले सो बजेट कस्तो छ ? राणकालीन जस्तो भनेर उत्तर दिनु भयो मलाई।’

उनले साविकको गाविसले समेत २ लाख भन्दा कमको योजना नबनाउने भन्ने निर्णयलाई समेत लत्याएर सरकारले २ लाख भन्दा कमको आयोजनाहरुसहितको बजेट ल्याउनु आपत्तिजनक रहेको बताए।

‘यहाँ २ लाख, ५ लाखका यति योजना छन कि म एउटा उद्धाहरण भन्न चाहन्छु । साविकको गाविसको भन्दा स्तर तल झरेर हामीले त्यो बेला स्थानीय तह खर्च व्यवस्थापन भनेर कार्यविधि बनाएको थियौं सम्माननीय सभामुख महोदय,’ उनले भने, ‘यो २०६९ सालमा बनाएको हो । त्यो कार्यविधिमा गाविसले समेत २ लाखको भन्दा तल योजना नगर, नगरपालिकाले ५ लाख भन्दा तल नगर त्यो बेलामा यो कार्यविधिमा लेखिएको छ ।’

उनले के सत्तारुढ दलका नेता र मन्त्रीहरुको निर्वाचन क्षेत्रका लागि बजेट छुट्टयाउन संघीयता र गणतन्त्र ल्याइएको हो ? भनी प्रश्न समेत गरे।

‘प्रतिनिधिसभामा यसमा बहुत बहस पनि भयो । न यसले भर्टिकल ब्यालेन्स गरेको छ । न होरिजेन्टल । र, यसमा कुनै नेताको निर्वाचन क्षेत्रमा मात्रै, कुनै मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बजेट जानुको अर्थ के हो ?,’  उनले भने, ‘भनेपछि हामीले यसैका लागि संघीयता ल्याएको हो सम्माननीय सभामुख महोदय । हामीले यसैका लागि गणतन्त्र लिएर आएको हो ? आफ्नै निर्वाचनमा क्षेत्रमा बजेट लैजानका लागि त्यो लिएर आएको हो ?’

सांसद देवकोटाले बजेट मन्त्री र नेतामुखी भएको आरोप लगाउँदै त्यसको  जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने बताए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here