पोखरा । गण्डकी प्रदेश सभा बैठकमा कांग्रेस सांसद द्रोण कुँवरले बजेट छलफलका क्रममा बोलेका वाक्य संसदको रेकर्डबाट हटाइएको छ । १८ गते बागलुङका सांसद कुँवरले बोलेका विषयलाई लिएर प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले शुक्रबार संसद अवरोध गरेपछि सभामुख कृष्ण धितालले रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
अर्थमन्त्री जीतप्रकाश आलेले असार १ गते संसदमा पेश गरेको बजेटको मन्त्रालयगत छलफलका क्रममा कुँवरले ‘चीनको स्वशासित क्षेत्रमा आवद्ध भएको माननीयहरुको आवाज’ भन्ने वाक्य प्रयोग गरेका थिए । शुक्रबारको बैठक सुरु हुनेबित्तिकै एमाले सांसद सुधीरकुमार पौडेलले उठेर बोल्ने समय मागेर कुँवरको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे ।
‘के गण्डकी प्रदेशमा तिब्बत स्वशासितसम्बद्ध सांसद छौं र सत्तापक्षकै सांसद तिब्बतबाट आउनुभएको छ र ?’ भन्दै पौडेलले प्रश्न गरेका थिए ।
पौडेलको भनाइसँगै एमाले र राप्रपा सांसदले उठेर विरोध गरेपछि यो विषयमा सचिवालयका तर्फबाट हेरेर उपयुक्त निर्णय लिने सभामुख धितालले बताए । तर, एमालेले विरोध जारी राखेपछि १० मिनेटका लागि स्थगित गरिएको बैठक करिब एक घन्टा चल्न सकेन । कार्यव्यवस्था परामर्श समितिको बैठकले कुँवरले अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएसँगै संसद चलेको हो ।
‘विनियोजन विधेयकको मन्त्रालयगत छलफलमा बोल्ने क्रममा माननीय सदस्य द्रोण कुँवरले प्रयोग गर्नुभएको ‘चीनको स्वशासित क्षेत्रमा आवद्ध भएको माननीयहरुको आवाज’ भन्ने शब्दहरु संसदीय मर्यादाविपरीत भएकाले उक्त शब्दहरु सभाको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु,’ सभामुखले भने ।
नेपाली कांग्रेसका सांसदहरुले संसदमा विरोध गर्ने कुनै विषय नपाएपछि एमालेले बोल्दा जिब्रो चिप्लिएको विषयलाई एजेण्डा बनाएको आरोप लगाएका छन् ।
बोल्दा जिब्रो चिप्लिएको भए पनि सांसदको नियत हेरेर विरोधको विषय बनाउनु पर्ने कांग्रेस सांसद डिल्लीराम सुवेदीले बताए । कांग्रेस सांसद कुँवरले आफूले चीनको स्वाशासित क्षेत्र तिब्बतसँग जोडिएको मुस्ताङका माननीयहरु भन्नुपर्नेमा जोडिएको भन्ने शब्द छुटेको बताए । आफ्नो नियत देश, भूगोल र कुनै माननीयमाथि आँच पुर्याउनु नभएको उनको भनाइ थियो ।
१८ गतेको बैठकमा सांसद कुँवरले राखेको भनाइ
मैले सिद्धान्त हेरें, नीति तथा कार्यक्रम हेरें । बजेट हेरें । ११ जिल्लालाई हेरें, ३६ वटा निर्वाचन क्षेत्रलाई हेरें । ८५ वटा गाउँपालिकाका टोल, टोल गाउँगाउँलाई पनि हेरें । सम्झें, ती हिमालपारीका गाउँ मनाङका ती माननीयहरुका आवाज पनि देखें । ती मुस्ताङका चीनको स्वाशासित क्षेत्रमा आवद्ध भएको माननीयको आवाज पनि सुनें । लुम्बिनी प्रदेशसँग जोडिएको म स्वयं त्यहाँका जनताका आवाजलाई पनि नियालेर हेरें । र अर्को प्रदेशको राजधानी गण्डकीका जनतालाई पनि नियालेर हेरें । सरसर्ती हेर्दै गर्दा यो बजेट जनमुखीजस्तो पनि देखिन्छ । कता कता लय गुमाएकोजस्तो पनि देखिन्छ ।

















