पशुपतिमा बढार्दा जलहरीमुनि ४३ तोला सुन भेटियो

50

काठमाडौं । पशुपतिनाथको मन्दिरभित्र गर्भगृहमा स्थापित जलहरीमुनि थप ४३ तोला सुन भेटिएको छ । शुक्रबार बिहान जलहरी राखिएको मुनितिर सफ गर्नेक्रममा सुन फेला परेको हो ।

पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले जहलरीमुनिको भागमा सफाइ गर्ने क्रममा सुन र जर्ति भेटिएको बताए। उनकाअनुसार सुन खोज्नेक्रम जारी रहेको छ । तर शुक्रबार फेला परेको सुनको परिमाण कति हो भन्नेबारे भने उनले एकिन नभइसकेको बताए । परिमाणबारे बेलुकासम्म जानकारी आउने उनले बताए ।

‘परिमाण एकिन भएको छैन पछि भनौंला । भरेबेलुकासम्म एकि हुन्छ’ खतिवडाले भने, ‘जर्ति खोजिरहेका छौं । जर्ती धुलो बढारेर निकाल्ने काम भइरहेको छ ।’

यसअघि असार ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिवलिङ्गमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर जाँच गरेको थियो ।

अख्तियारले पशुपति क्षेत्र विकास कोष, पशुपतिनाथका पुजारी, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, लगायतको रोहवरमा गरेको नापतौलमा जलहरीमा राखिएको करिब १०७ किलो भएको पाइएको थियो ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा १ सय ६ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ ।

सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ । सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ ।

विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्राम समेत प्रयोग गरेर १०७ केजी ९२४.७५ ग्राम सुन कायम भएको थियो ।

जलहरी राख्दा ११ किलो सुन अनियमितता भएको भन्दै प्रश्न उठिरहेपछि अख्तियारले सुन जोखेर अनुसन्धान गरेको थियो । तर आधा किलो सुन कम निस्किएको बताइएको थियो । यद्दपी अख्तियारले भने सुन नापतौल र गुणस्तरबारे केही जानकारी दिएको छैन ।

महालेखाले उठाएको थियो प्रश्न

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा २०७७ मा पशुपतिको दर्शन गर्न जाँदा सुनका जलहरी राख्ने घोषणा गरेका थिए । सरकारले ३० करोड रुपैयाँ दिने भन्दै उनले यो घोषणा गरेका थिए ।

फाल्गुन १२ गते पशुपतिमा ९६ केजीको सुनको जलहरी राखिएको थियो । उक्त जलहरीलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनवरण गरेकी थिइन ।

उक्त विषयमा महालेखा परिक्षकको कार्यालयको ५९ औं प्रतिवेदनमा सुनमा हिनामिना भएको हुन सक्ने आशंका गरिएको थियो।

के थियो महालेखाको प्रतिवेदनमा ?

महालेखा परिक्षकको कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माणमा नेपाल राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन ८० करोड ११ हजारमा किनिएको उल्लेख छ ।

विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्राम समेत प्रयोग गरेर १०७ केजी ९२४.७५ ग्राम सुन कायम भएको भनिएको छ।

महालेखाको प्रतिवेदनमा पशुपतिमा निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको १० किलो ९७६ ग्राम सुनको रिङ्ग बनाई जलहरीमा लगाइएको भनिएको छ । रिङ्ग बनाउन प्रयोग भएको भनिएको सुनको मूल्य ७ करोड ९६ लाख ४६ हजार रहेको बताइएको छ ।

तर, महालेखाले उक्त रिङ्ग निर्माणमा प्रयोग भएको सुन जलहरी बनाइसकेर बाँकी रहेको सम्पूर्ण सुन भएको हुने गरि कुनै पनि विवरण पेश नगरिएको उल्लेख गरेको छ । पशुपति क्षेत्र विकास कोषले जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिणाम रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश नगरेको भन्दै महालेखाले ५९ औं प्रतिवेदमा नै प्रश्न उठाएको थियो ।

पशुपति क्षेत्र विकास कोष आर्थिक प्रशासन नियमावली, २०४५ काअनुसार दाताहरुबाट प्राप्त चन्दा अनुदान, भेटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रिय खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । तर, जलहरी निर्माणका क्रममा कोषको सञ्चालक परिषद्को बैठकले सुनको जलहरी निर्माण कार्यको लागि आवश्यक ज्याला दाताहरुमार्फत सोझै कालीगाणई भुक्तानी गर्ने गरि निर्णय गरेको थियो ।

महालेखाको प्रतिवेदनले जलहरी निर्माणको क्रममा दाताहरुबाट व्योहोरिएको रकमको हिसाबकिताब नै नरहेको पाइएको जनाएको छ । पशुपति विकास कोषले जलहरी निर्माणका क्रममा निर्माण गर्ने कम्पनीसँग भएको सम्झौता र काममा संलग्न रहेका कालीगढहरुलाई दिइएको भुक्तानीको विवरण नै पेस नगरेको भन्दै महालेखाले प्रश्न गरेको थियो ।

संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको केही दिन अघिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताएका थिए । आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले आँशु झारेका थिए ।

आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यहीँ हो ? भनि प्रश्न गरेका थिए ।

जलहरी शिवलिङ्ग अडिने आधार हो । जसबाट दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन् । यसअघि चाँदीबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएपछि झन्डै दुई वर्षको छलफल तथा परामर्शपश्चात् सुनको जलहरी निर्माण गरिएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here