सरकारको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने

183

काठमाडौं /  नेपाल आयल निगमले तिहार र छठसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने निर्णय गरेको छ ।

सरकारको निर्देशनपछि निगमले चाडपर्व अवधिभर इन्धनको मूल्य वृद्धि नगर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्दा निगमको घाटा चुलिँदै गएको छ । हाल निगमले मासिक दुई अर्ब ८ करोड रुपैयाँसम्म नोक्सान खेपिरहेको छ । नोक्सानी कम गर्न निगमले मूल्यवृद्धि गर्नका लागि सरकारलाई दबाब दिइरहेको छ ।

आयल निगम सञ्चालक समिति सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालले चाडपर्वको बेलामा हुन नसक्ने मूल्यवृद्धिलाई ध्यान दिएर इन्धनको भाउ यथावत राखिएको जानकारी दिए ।

‘प्रधानमन्त्री र उद्योगमन्त्रीको निर्देशनपछि तिहार र छठसम्मका लािग इन्धनको मूल्य वृद्धि नगर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘निगमले चर्को घाटा खेपिरहेपनि उपभोक्तालाई सहज होस् भन्ने हिसाबले मूल्यवृद्धि नगर्ने पक्षमा सरकार उभिएको हो ।’

निगमले हाल पेट्रोल प्रतिलिटर एक सय १४ रुपैयाँमा बिक्री गर्दा ८ रुपैयाँ ५० पैसा नोक्सान खेपिरहेको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १ सय १ रुपैयाँमा बिक्री गर्दा ९ रुपैयाँ ३२ पैसा नोक्सान खेपिरहेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १ हजार ४ सय रुपैयाँमा बिक्री गर्दा चार सय चार रुपैयाँ ७३ पैसा नोक्सान खेपिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here