काठमाडौं । बारबरा फाउण्डेसनले चार जना पत्रकारलाई २५ लाख रुपैयाँको खोजमूलक पत्रकारिता पुरस्कार प्रदान गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फाउण्डेसनले ‘खोजमूलक पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरेको हो।
१६ लाख रुपैयाँको प्रथम पुरस्कार पत्रकार देवेन्द्र भट्टराई र मात्रिका दाहाललाई प्रदान गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको खोजमूलक रिपोर्टिङ गरी उक्त प्रकरणलाई छानबिनको दायरामा ल्याउन सफल भएकोमा पत्रकारद्वय भट्टराई र दाहाललाई उक्त पुरस्कार दिइएको फाउण्डेसनले जनाएको छ।
यस्तै, ६ लाख रुपैयाँको दोस्रो पुरस्कार पत्रकार दिपा दाहाललाई प्रदान गरिएको छ। चौधरी ग्रुपको स्वामित्वमा गएको बासबारी छालाजुत्ता उद्योगको सरकारी जग्गाबारे गरिएको खोजमूलक रिपोर्टिङका लागि पत्रकार दाहाललाई उक्त पुरस्कार दिइएको हो।
यस्तै, तीन लाख रुपैयाँको तेस्रो पुरस्कार पत्रकार रमेश कुमारलाई प्रदान गरिएको छ। शेयर बजारमा भएको अनियमिताबारे गरिएको खोजमूलक रिपोर्टिङका लागि उक्त पुरस्कार दिइएको हो।
यसअघि फाउण्डेशनले उक्त पुरस्कारका लागि आवेदन आह्वान गरेको थियो। वैशाख २०७९ देखि चैत २०८० सम्म प्रकाशन/प्रशारणमा आएका अनुसन्धानपरक समाचार/सामग्रीमध्येबाट उक्त पुरस्कार दिइएको फाउण्डेशनले जनाएको छ।

















