मदन-आश्रितको हत्या गरिएकाे नेता खनालकाे दाबी

43

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको जनाएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औँ मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रुपमा फालिएको दाबी गरे।

उनले मदन—आश्रितको मृत्यु दुर्घटनाबाट नभइ निर्ममतापूर्वक गरिएको हत्या भएको जनाए। उनले दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् कि सय वर्ष हत्या हत्या नै हुने जनाए।

उनले भने, ‘मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गर्नुभएको छ। उहाँहरुले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाईमा उठाउनका निम्ति लगातार प्रयत्न गरिरहनुभएको थियो। लोकप्रिय ढंगले उहाँहरु नेपाली जनताको बीचमा स्थापित भइरहनुभएको थियो। त्यस्ता नेताहरुको असाध्यै षड्यन्त्रपूर्ण ढंगले र रहष्यपूर्ण ढंगले हत्या भएको हो।

आजसम्म आउँदा कयौँ मानिसहरुले यसलाई दुर्घटना भने तर यथार्थमा भन्ने हो भने त्यो निर्ममतापूर्वक गरिएको हत्या हो। कुनै पनि पाखाबाट खनिएको बाटोमा गइरहेको गाडी मुग्लिनबाट नारायणघाटबाट गइरहेको गाडी भित्तातिरबाट हिँड्छ, भित्ताबाट हिँडेको गाडी कसरी खोलातिर खस्न सक्छ? के संसारको कुनै पनि ठाउँमा यस्ता घटना भएका छन्, कुनै तथ्यले यो पुष्टि गर्न सक्दैन। यो षड्यन्त्रपूर्ण हत्या हो भन्ने पुष्टि हुन्छ। लक भएको गाडीबाट उहाँहरुको शव कसरी बाहिर गयो? ३० वर्ष होस् कि सय वर्षपछि होस्, हत्या हत्या नै हो, अपराध अपराध नै हो। त्यो जीपबाट खसाएर मारिएको होइन, त्यो भन्दा अघि नै मारिएको हो भन्ने स्पष्ट छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here