बर्मुडा ट्राएङ्गलको कुचक्र, फ्लाइट–१९ बेपत्ता

44

मायामी, बर्मुडा र प्युर्टो रिकोलाई बिन्दु मानेर कल्पना गरिएको बर्मुडा ट्राएङ्गलभित्र अत्तोपत्तो नहुने गरी कैयौँ पानीजहाज र विमान बेपत्ता भएका छन्। के कति कारण यसरी जहाजहरू बेपत्ता भएका हुन्, त्यो अझैँ पनि रहस्यमै छ।

करिब ८० वर्ष पहिले एक घमाइलो दिनमा फ्लोरिडामा रहेको अड्डाबाट जलसेनाका पाँच विमानले प्रशिक्षणका लागि उडान भरे, जसलाई फ्लाइट–१९ नाम दिइएको थियो। त्यसपछि फ्लाइट–१९ का कुनै पनि विमानको चालक दलका सदस्य देखा परेका छैनन्।

यस प्रकार एक किंवदन्ती जन्मियो। मायामी, बर्मुडा र प्युर्टो रिकोबीच एक काल्पनिक त्रिभुजाकार क्षेत्र छ, जसलाई बर्मुडा ट्राएङ्गल भनिन्छ। यस रहस्यमय क्षेत्रमा अहिलेसम्म के कति घटना भएका छन्, कसैसँग यथार्थ तथ्याङ्क छैन तर पछिल्लो शताब्दीमै कैयौँ पानीजहाज र विमान रहस्यमय रूपमा बर्मुडा ट्राएङ्गलमा हराए, तिनीहरूको कुनै अवशेष नै फेला परेन।

यस क्षेत्रका असामान्य विशेषतालाई विगतमा नै जानकारीमा आएका थिए। क्रिस्टोफर कोलम्बसले सो क्षेत्रमा पुग्दा आफ्नो कम्पासले अनौठो व्यवहार देखाएको तथ्य अभिलेखमा लेखेका थिए। तर सन् १९६४ मा आएर मात्र त्यस रहस्यमय क्षेत्रले नाम पायो, जब भिसेन्ट गाड्डिसले फ्लाइट–१९ बेपत्ता भएको घटनालाई लिएर अर्गोसी पत्रिकामा लखेको मूल लेखमा बर्मुडा ट्राएङ्गल शब्द प्रयोग गरे।

विमानमा यात्रा गरिरहेका बेपत्ता यात्रुसँग के भयो ?, यसको व्याख्या गर्न कैयौँ खालका अनौठा सिद्धान्त प्रतिपादित गरिए। यात्रुसहित विमानहरू बेपत्ता हुनुमा भयङ्कर समुद्री दैत्य, विशाल स्क्डि वा अन्य ग्रहका प्राणीको कुचक्रलाई जिम्मेवार मानियो। एलियनले अपहरण गरेको, अज्ञात प्रणालीद्वारा सिर्जना गरिएको रहस्यमय त्रिआयामको अस्तित्व तथा समुद्रमा ठूलो मात्रामा फसेको मिथेन ग्यास अचानक बाहिर निस्कने घटना ‘ओसिन फ्लाटुलेन्स’ आदि सबैलाई केन्द्रमा राखेर विश्लेषण गरिएका थिए।

धेरै मानिसको विचारमा वास्तविकता चाहिँ तत्वहीन छ। उनीहरू के जिकिर गर्छन् भने विमानहरू बेपत्ता भएका घटनामा कहिलेकाहीँ अस्थिर प्रकृति, मानवीय त्रुटि, बेकम्मा शिल्पकारी वा डिजाइन तथा दुर्भाग्यलाई जिम्मेवार मान्न सकिन्छ।

अमेरिकाको नेभल हिस्टोरिकल फाउन्डेसनका इतिहासवेत्ता जोन रेली भन्छन्, “त्यो क्षेत्र भएर धेरै नै यात्रा गरिन्छ तथा युरोपेली अन्वेषणका आरम्भिक दिनदेखि नै यो एक व्यस्त मार्ग रहिआएको छ। त्यहाँ केही पानीजहाज र विमान हराए भन्नु भनेको त न्युजर्जीको टर्नपाइकमा धेरै नै कार दुर्घटना हुन्छन् भने जस्तो भयो।”

अमेरिकी कोस्ट गार्ड कार्यालयका लेफ्टिनेन्ट एएल रसेलले बर्मुडा ट्राएङ्गलमाथि भएका अनुसन्धानका बारेमा लेखेका छन्, “हाम्रो अनुभव के छ भने प्रकृतिको ताकत तथा मानवजातिको अस्थिरताको संयुक्त शक्तिले प्रत्येक वर्ष विभिन्न साइन्स–फिक्सन कथालाई जन्म दिइरहेको छ।”

फ्लाइट–१९ बेपत्ता

सन् १९४५ डिसेम्बर ५ मा उडान भरेको दुर्भाग्यशाली फ्लाइट–१९ सँग जोडिएको बर्मुडा ट्राएङ्गलको कथा सदा सम्झनामा रहने छ।

फ्लोरिडाको फोर्ट लाउडरडेलमा रहेको नेभल एयर स्टेसनबाट फ्लाइट–१९ ले उडान भरेका थिए। पाँचवटा टीबीएम एभेन्जर टोर्पिडो बम्बरमा १४ जना थिए र दिउँसो २:१० मिनेटमा उडेका ती विमान नियमित नेभिगेसनल ट्रेनिङमा थिए। प्रशिक्षक लेफ्टिनेन्ट चाल्र्स टेलरको नेतृत्वमा रहेको फ्लाइट–१९ लाई समुद्रमा काल्पनिक त्रिकोण क्षेत्रबाट हुँदै ‘हेन एन्ड चिकेन स्कल्स’ माथि बम वर्षा गर्ने अभ्यासको जिम्मेवारी दिइएको थियो।

जीपीएस युगभन्दा धेरै पहिले विमानले नेभिगेसनका लागि कम्पासमा भर पर्नु पर्दथ्यो। कम वर्षा गर्ने अभ्यास गरेको लगत्तै टेलर बेपत्ता भए। सन् १९४५ मा समुद्रमाथि विमान उडाउँदा पाइलट दिशा निर्धारणका लागि कम्पासमा भर पर्थे तथा उनीहरूले आफू कुन दिशामा कुन गतिले उडान गरिरहेको छु भन्ने थाहा पाउनु पर्दथ्यो।

टेलरको विमानका दुवै कम्पास स्पष्ट रूपमा खराब देखिए। विमानमा जडित सञ्चार प्रणाली बारेको लेखोटले समेत सुझाव दिन्छ, उनले घडी पहिरिएका थिएनन्। समुद्रको मध्यमा कुनै सीमाचिह्न पनि थिएन।

विमानहरूले एकै दिशामा उडान भरे र त्यसपछि अर्को दिशामा किनभने दिउँसो शान्त देखिएको समुद्र अँध्यारो आँधीबेहरीमा परिणत भएको थियो। पहिलो विमानमा इन्धनको मात्रा १० ग्यालनभन्दा कम भएपछि सबै पाँच विमान समुद्रमा खस्ने अवस्था आउँदा टेलरले जोगिने उपाय खोज्न थाले तर सफलता पाएनन्।

एभेन्जरलाई निकै बलियो विमान मानिएको थियो। पाइलटहरूले कहिलेकाहीँ यसलाई ‘आइरल बर्ड’ पनि भन्दथे। नेवल एभियसन हिस्ट्रीका इतिहासवेत्ता मार्क इभान्स भन्छन्, “एक ट्याङ्कका रूपमा ती विमानको निर्माण गरिएको थियो। ती विमान युद्धबाट पटक पटक फिर्ता आएका थिए र अझै पनि काम गरिरहेका थिए। पाइलटहरूले तिनलाई मन पराउँथे।”

ती विमान धेरै तौल भएका थिए। बाह्य भारबिना पनि तिनको तौल साढे चार हजार किलो थियो। समुद्रमा जब एभेन्जरले सोझैँ गोता लगाएको होला, त्यो निकै तेज र जोडदार भएको हुन सक्छ। समुद्री छाल उर्लेका बेला त्यसमा गोता लगाएको जहाजमा सवार कोही बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ, त्यसमाथि चिसो पानीमा रातिका बेला त बाँच्ने सम्भावना नै हुँदैन। त्यसमाथि विमानका भग्नावशेष समुद्रको पिँधमा चाँडै पुग्ने सम्भावना अधिक थियो।

अमेरिकाले जमिन र समुद्रमा व्यापक स्तरमा खोजी अभियान चलायो तर न त यात्रुको अवशेष नै भेटियो न त विमानको भग्नावशेष।

बर्मुडा ट्राएङ्गलको तान्डव त्यतिमै सीमित कहाँ भयो र, खोजी कार्यमा खटिएको एउटा अर्को विमान १३ जना यात्रुसहित बेपत्ता हुन पुग्यो। त्यसरी बेपत्ता भएको विमान थियो पीबीएम मेरिनर। यसलाई ‘उड्ने ग्यास ट्याङ्क’ पनि भनिन्थ्यो किनभने हल्का आगो वा झिल्कोले समेत यसमा विस्फोट हुन सक्थ्यो। त्यस क्षेत्रमा रहेको एउटा पानीजहाजले आकाशमा आगोको ठूलो मुस्लो देखेको तथा जहाँ र जुन समयमा त्यति बेला विमान हुनुपर्ने हो त्यहाँको समुद्रमा फैलिएको तेल पार गरेर आफू अगाडि बढेको जानकारी दिएको थियो। सन् १९४९ मा अमेरिकाको जलसेनाले जोखिम उच्च भएको जनाउँदै पीबीएम मेरिनरको उत्पादन नै बन्द ग-यो।

फ्लाइट–१९ बेपत्ता भएको सम्बन्धमा जलसेनाको अन्तिम अनुसन्धान प्रतिवेदनमा पाइलटको त्रुटिलाई दोष दिइयो। टेलरको परिवारले यस अनुसन्धान प्रतिवेदनको विरोध ग¥यो तथा कैयौँ पटक समीक्षा गरिएपछि अन्तिम निष्कर्षलाई परिवर्तन गरी ‘अज्ञात कारण’ भनियो।

आन्ध्र महासागरको चिहान

बर्मुडा ट्राएङ्गल क्षेत्रमा केही असामान्य विशेषता छन्। पृथ्वीमा रहेका यस्ता दुई क्षेत्रमध्येको एक हो। अर्को इलाका जापानको पूर्वी तटीय क्षेत्रमा ‘डेभिल्स सी’ नामले परिचित छ। ‘डेभिल्स सी’ समेत रहस्यमय घटनाले भरिएको छ। त्यहाँ ‘ट्रु नर्थ र म्याग्नेटिक नर्थ’ पङ्क्तिबद्ध छन्। यस कारणले गर्दा कम्पासको सुईमा भरोसा गर्न सकिँदैन।

बर्मुडा ट्राएङ्गलमा विश्वको समुद्रमुनिका धेरै गहिरा खोंचसमेत छन्। समुद्रको सतहबाट धेरै गहिराइमा रहेका ती खोंचमा पानीजहाज र विमानका भग्नावशेष थन्किन पुग्छन्, त्यसलाई समुद्रमा कैयौँ किलोमिटर गहिराइको चिहान पनि भन्ने गरिएको छ।

बर्मुडा ट्राएङ्गलको अधिकांश पिँध सतहबाट १९ हजार फिट अर्थात् पाँच हजार ७९१ मिटर गहिराइमा छन्। बर्मुडा ट्राएङ्गलको दक्षिणी कुना प्युर्टो रिको ट्रेन्च (खोंच) त सतहबाट आठ हजार २२९ मिटर गहिरो छ।

महादेशीय तख्तासँगै खतरनाक बलौटे क्षेत्र र रिफ पाइन्छन्। रिफहरूमाथि पानीको तेज धारले पटक पटक नेभिगेसनल सङ्कट ल्याउने भनाइ छ अमेरिकी तटीय सुरक्षा गार्डको। नेसनल ओसियानिक एन्ड एट्मोस्फेरिक एड्मिनिस्ट्रेसनको मेरिन प्रिडिक्सन सेन्टरका डेभ फाइट भन्छन्, “यस क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको समुद्री आँधी नै हो तर यो आँधी उत्पन्न हुने क्षेत्र मात्रै होइन।”

डेभ फाइटले के कुरा औँल्याएका छन् भने बर्मुडा ट्राएङ्गलको पश्चिमी कुना हुँदै ‘गल्फ स्ट्रिम’ बग्दछ र त्यो नै यसको कारक हुन सक्छ। ‘गल्फ स्ट्रिम’ भने समुद्रभित्र बग्ने ६४ देखि ८० किलोमिटर चौडा नदी हो, जो उत्तरी आन्ध्र महासागरलाई घेरा बनाएर बग्दछ। न्यानो पानी तथा करिब साढे सात किलोमिटर प्रतिघण्टाको गतिमा बग्ने जलधाराले मौसमको स्वरूप निर्धारण गर्न सक्दछ।

जे जस्ता सिद्धान्त र तर्क अगाडि सारिएका भए पनि बर्मुडा ट्राएङ्गल रहस्यमय नै मानिएको छ। यससँग जोडिएका अनेक कथा हरेक दिन सतहमा आउने गर्छन्।

–युवामञ्च

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here