सय किलो सुन प्रकरण : टोखास्थित एक कारखानामा राजस्वको छापा

87

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले शनिबार राति टोखस्थित एक कारखानामा छापा मारेको छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार टोखामा सुन गालेर त्यसलाई रि-फ्रेस गराएर तस्करले बाहिर लैजाने गरेको पाइएपछि उक्त कारखानालाई सिल गरिएको हो।

त्यहाँबाट आगो बाल्न प्रयोग हुने काठका धुलोका बोरा, सुन गाल्न प्रयोग हुने मेसिन, सुन गाल्न प्रयोग हुने रसायनका बट्टा र गालेको सुन छोप्नका लागि प्रयोग हुने उपकरण बरामद गरिएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “हिजो राति टोखास्थित एक कारखानामा छापा मारिएको छ। उक्त कारखानामा सुन गालेर स्वरूप परिवर्तन गरेर तस्करी गर्ने गरेको देखिएको छ। केही सामान बरामद पनि  गरिएको छ।”

अहिले उक्त क्षेत्रलाई सिल गरिएको उहाँले बताउनुभयो। राजधानीमै सुनलाई गालेर अन्यत्र लैजाने व्यवस्थासहितको यो कारखाना देखिएकाले यसमा संलग्न धेरै हुनसक्ने उहाँको भनाइ छ। यद्यपि सुन कुन रूपमा परिणत गरिन्थ्यो भन्ने बारे खुलिनसकेको उहाँ बताउनुहुन्छ। साउन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको करिब सय किलो सुन राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो। यो प्रकरणमा संलग्न भएको आरोपमा चिनियाँ र भारतीय एक-एक नागरिकसहित अहिलेसम्म १७ जना पक्राउ परिसकेका छन्। सरकारले यो विषयलाई प्राथमिकता राखेर अनुसन्धान भइरहेको जनाएको छ।  GORKHA PATRA

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here