काठमाडौं । ललितपुरकाे बुङमतीमा अवस्थित कार्यविनायक मन्दिरमा सुनको छाना र गजुरका लागि चर्चित गायकार योगेश्वर अमात्यले १ सय ८ तोला सुन दान गरेका छन् ।
योगेश्वरले मन्दिरका लागि १ सय ८ तोला सुन दान गरेको मन्दिरका पुजारी सङ्घका अध्यक्ष आशाकाजी तुलाधरले जानकारी गराए । ‘योगेश्वरले दिएको सहयोगबाट मन्दिरको छाना र गजुरमा सुनको जलप गरिएको छ’ उनले भने ।
योगेश्वरले सिधै सुन भन्दा पनि १ सय ८ तोला सुन बराबरको रकम सहयोग गरेका हुन् । छान र गजुरका लागि काम भएको समयको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रुपैयाँ बराबर रहेको छ ।कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरिएको थियो । उक्त आह्वान थाहा पाएपछि योगेश्वरले सहयोग गर्नु भएको अध्यक्ष तुलाधरको धारणा छ ।
‘जब सन्ध्या हुन्छ’ गीत मार्फत चर्चित भएका गायक योगेश्वर अमात्य अहिले देश बाहिर छन् । सामाजिक सञ्जालमा सुन दानको विषयमा सोध्दा उक्त सहयोग आफू र आफ्नो श्रीमतीको तर्फबाट भएको जनाए । क्या बोर भयो, लैजा चरी, लोग्ने मान्छे भएर, दसैँ नै हो कि यो मेरो दशा सबैको मुखमा झुन्डिन गीतहरू चर्चित रहेकाे छ ।


















