कांग्रेस संसदीय दलको बैठक बस्दै

45

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। संसदीय दल बैठकमा सांसदहरूलाई विभिन्न ७ एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ।

संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा ध्यानाकर्षण गराउनेजस्ता एजेन्डा तोकिएका छन्।

सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई पालैपालो बोल्न समय दिएका छन्।

शुक्रबार १९ जना सांसदले धारणा राखेका थिए। शुक्रबारको बैठकमा सरकार कांग्रेसप्रति पूर्वाग्रही भएर पार्टीका सांसदहरूलाई पक्राउ गरेको आरोप लगाएका थिए। पार्टीका सांसदहरू भटाभट पक्राउ परेपछि कांग्रेस सांसदहरूले यसबारेमा प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्ने बताएका थिए।

शुक्रबार सभापति तथा दलका अध्यक्ष देउवा भने बोलेनन्। बाँकी सांसदहरूले बोलिसकेपछि सांसद रहेका पदाधिकारीहरूले धारणा राख्नेछन्। त्यसपछि विभिन्न निर्णय गर्दै बैठक आज सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here