काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिनुभएको छ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौं उपत्यकामा सुकुम्बासी व्यवस्थापन सम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, “सार्वजनिक महत्वका विषयको दीर्घकालीन अर्थ हुन्छ, त्यस्ता विषयमा हाम्रो सबैभन्दा बढी ध्यान दिनुपर्छ। एउटा मन्त्रालय र निकायसँग जोडिएको विषय अन्त सार्ने र समस्याबाट उम्किने काम हामी कसैले पनि गर्नु हुँदैन।
बैठकमा तीनकुने अधिग्रहित जग्गा नेपाल सरकारको नाममा आइसकेको परिस्थितिमिा पनि मुआब्जा र समस्या समाधान हुन बाँकी रहेकाले त्यसको दीर्घकालीन समस्या कसरी गर्ने एवं तीनकुने जडीबुटी अन्डरपासको काम कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
छलफलमा काठमाडौं उपत्यकाको सुकुम्बासी समस्याका समाधानका लागि भएका प्रयासहरू र त्यसलाई निष्कर्षमा पु¥याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न बिकल्पबारे छलफल भएको थियो।















