एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया १ सय ११ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाले भने घरेलु मैदानको फाइदा उठाउन सकेन । पाहुना टोली अस्ट्रेलियाले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५.३ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो ।
उसका लागि रीजा हेन्ड्रिक्सले ४३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाए । यस्तै, रस्सीभानडर दुसेन २१ र मार्को जेनसन २० रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि यही खेलमा डेब्यू गरेका तनवीर सांघाले चार, मार्कस स्टोइनिसले तीन, स्पेन्सर जोनसनले दुई र सेन एबटले एक विकेट लिए । त्यसअघि डर्बनमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २६ रन बनायो ।
उसका लागि कप्तान मिचेल मार्श र टिम डेविडले उत्कृष्ट पारी खेले । ४९ बलको सामना गरेका मार्शले १३ चौका र २ छक्कासहित अविजित ९२ रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा उनको यो करियरकै उच्च स्कोर हो ।
यस्तै, डेविडले २८ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ६४ रन बनाए । उनको यो छैटौँ टी–२० अर्धशतक हो । म्याथ्यू सर्ट २०, आरोन हार्डी २३, ट्रभिस हेड, मार्कस स्टोइनिस ६/६ र जोस इंग्लिस एक रनमा आउट भए ।
दक्षिण अफ्रिकाका लागि लीजाड विलियम्सले तीन, मार्को जेनसन, लुंगि एन्गिडी र तरबिज शाम्सीले एक/एक विकेट लिए । दक्षिण अफ्रिका र अस्ट्रेलियाले दोस्रो खेल शुक्रबार खेल्नेछन् ।

















