पोखरा । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले माओवादीलाई अपराधी करार गर्न खोजिएको भन्दै यो ठूलो षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।
शुक्रबार पोखरामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले देशको कार्यकारीलाई नै ‘हत्यारा’ भन्ने कुरा बजार र चोकचोकमा रहेको टिप्पणी गरे ।
‘देशको कार्यकारीलाई हत्यारा भन्ने कुरा बजारमा चोकचोकमा छ । विद्रोह गरेको भनेर हत्यारा हो भनिँदै छ,’ विप्लवले भने, ‘कार्यकारी प्रमुखले मुद्दा लड्नुपर्छ । माओवादीलाई अपराधी करार गर्नुपर्छ भनिएको छ । यो हमला र ठूलो षड्यन्त्र हो ।’
उनले कम्युनिस्टबाहेक अरु देशका लागि लड्न नसकेको टिप्पणी गरे । नेपाल स्वाधिन भएको हेर्न नचाहने र विखण्डन मच्चाउने शक्तिहरू देशमा रहेको उनको भनाइ छ ।
‘नेपाललाई स्वाधिन भएको हेर्न नचाहने भरौटेहरू, समाजमा विखण्डन मच्याउने शक्ति देशमा छन्,’ विप्लवले भने, ‘सरकार पैसा कमाउने ठाउँ होइन । संसद, सरकार भनेको जनताको सेवक हुन् । अहिले सुशासनको पक्षमा जे चलेको छ त्यसलाई समर्थन गर्छौं ।’


















